प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभामा उपस्थित हुँदै विदेश भ्रमणका अनुभव र उपलब्धिबारे संसदलाई अवगत गराउने भएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

हालै सम्पन्न भएको संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भई स्पेनको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै भ्रमणका प्रमुख बुँदाहरू र नेपालको सहभागिताको महत्वबारे जानकारी दिने कार्यक्रम तय भएको हो ।

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन भ्रमणका निष्कर्ष र उपलब्धिमा केन्द्रित हुनेछ। उनले भने, “प्रधानमन्त्रीले अन्तरराष्ट्रिय सम्मेलनमा राखिएको नेपालको धारणा र त्यहाँ भएका संवादबारे संसदलाई जानकारी दिनुहुनेछ ।”

प्रधानमन्त्री ओली असार २० गते स्पेन भ्रमण सकेर स्वदेश फर्किएका थिए । विगतको संसदीय अभ्यासअनुसार प्रधानमन्त्री वा मन्त्रीहरूले विदेश भ्रमणअघि र पछि संसदमा जानकारी गराउने प्रचलन रही आएको छ।

आजको संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनसँगै देशको विकास र वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्बन्धका नयाँ आयाममाथि पनि दृष्टि पर्ने अपेक्षा गरिएको छ ।