उपभोक्ता अदालतको निर्णयप्रति चिकित्सक संघको विरोध, चरणबद्ध आन्दोलन घोषणा


काठमाडौँ । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतसम्बन्धी पछिल्लो गतिविधिप्रति आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

संघकाे असार १९ गते विभिन्न निजी अस्पतालका प्रमुख, मेडिकल तथा डेन्टल कलेज, चिकित्सक समाज, स्वास्थ्यकर्मी संघसंस्थाहरू र आवासीय चिकित्सकहरू सहित सरोकारवाला निकायहरूसँग बृहत् छलफल गरेको थियो।

छलफलपछि संघको कार्यकारिणी समितिको आकस्मिक बैठक बसेको थियो। बैठकले हालको परिस्थितिमा चिकित्सकहरूमाथि असुरक्षा बढेको, मनोबल घटाउने खालका क्रियाकलाप भइरहेको निष्कर्ष निकाल्दै विरोधस्वरूप चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

संघले शुक्रबारदेखि नै देशभरका आफ्ना शाखा कार्यालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार देशभरका चिकित्सकहरूले एक घण्टा कार्यस्थलमै धर्ना दिने छन् भने सोमबार आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरिने संघले जनाएको छ।

त्यसैगरी, सोमबारभित्र सबै चिकित्सकको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालयमा बुझाइनेछ। मंगलबार ती प्रमाणपत्रहरू नेपाल मेडिकल काउन्सिलमै बुझाइनेछ।

संघले आन्दोलनमा सहभागी सबै चिकित्सक र संस्थाप्रति आभार व्यक्त गर्दै, आम नागरिकलाई पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गरेको छ। साथै, यस्तो परिस्थिति सिर्जना हुनुमा नेपाल सरकार जिम्मेवार रहेको संघले स्पष्ट पारेको छ।