रैथाने जातहरूको वैज्ञानिक अध्ययन र संरक्षण अपरिहार्य छः महासचिव पाेख्रेल


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले रैथाने बीउ, बाली र पशुपन्छी जातहरूको वैज्ञानिक अध्ययन र संरक्षण अपरिहार्य भएको बताएका छन्।

एमाले केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागद्वारा आयोजित ‘रैथाने बीउ तथा पशु नश्ल संरक्षण, विकास र प्रवद्र्धन : आत्मनिर्भर कृषि र राष्ट्रिय स्वाभिमानको आधार’ विषयक राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले जलवायु परिवर्तन र खाद्य सुरक्षाका चुनौतीबिच रैथाने जातहरूको महत्व अझ बढेको स्पष्ट पारेका हुन् ।

उनले रैथाने जातहरू पहिचान गर्न वैज्ञानिक अध्ययन आवश्यक भएको बताए। “कोदोको पनि मैले देखेको भन्दा फरक जातहरू भेटिन्छन्,” उनले भने, “यी जातहरूको खोज, वर्गीकरण र संरक्षण गर्न ढिला गर्नु हुँदैन।” गाउँघरमा विगतमा प्रयोग हुने बीउ संरक्षण पद्धतिहरू आज व्यवसायीकरणको प्रवाहमा हराउँदै गएको उल्लेख गर्दै उनले वैज्ञानिक प्रविधिबाट बीउ संरक्षणलाई संस्थागत बनाउनु पर्ने आवश्यकता औंल्याए।

रैथाने जातहरू खोज्न र संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरेमा अझ नयाँ जातहरू पत्ता लाग्ने सम्भावना बढ्ने उनले बताए। “हामीले जुन चिजलाई सुधार गर्न सकेका छौँ, त्यसको संरक्षण पनि वैज्ञानिक ढंगले हुनुपर्छ,” पोख्रेलले भने।

उनले वर्तमान अनुसन्धान प्रणालीभन्दा बाहिरबाट आउने प्रविधिहरूले व्यावसायिक खेतीमा प्रभाव पारेको स्वीकार गर्दै भने, “हामीलाई आत्मनिर्भर बन्न र राष्ट्रिय स्वाभिमान टिकाउन रैथाने बीउको संरक्षणमा गम्भीर हुनैपर्छ।”

उनले जलवायु परिवर्तनको प्रभावलाई सामना गर्नका लागि पनि रैथाने बाली र जातको संरक्षण अनिवार्य भएको बताए। साथसाथै उनले रैथाने जातको आधारमा कृषकलाई अनुदान प्रदान गरिनुपर्नेमा पनि जोड दिए।

कार्यक्रमले रैथाने बीउ र पशु नश्लहरूको संरक्षण र प्रवद्र्धनमार्फत दीर्घकालीन खाद्य सुरक्षामा टेवा पुर्‍याउने नीतिगत बहस अघि बढाएको छ।