भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिस्कार गर्ने राप्रपाको अडान कायमै


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन नभएसम्म संसद बहिस्कार गर्ने बताएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् । भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलन भएपनि सरकारले नसुनेझै गरेको उनकाे भनाइ छ । 

“भिजिट भिसा प्रकरणको  छानविनका लागि उच्चस्तरीय छानविन समितिको माग गरेर राप्रपाले लामो समयदेखि सरकारसँग जोडगार माग गरेको छ । तर सरकारले सुनेपनि नसुनेजस्तै गरेको सभामुख महोदय । जबसम्म छानविन समिति बन्दै तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बहिस्कार गर्दछ,” उनले भनिन् ।

सांसद नेपालीले बाढी–पहिरो पीडितहरुको उद्धार तथा राहतमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराइन् ।