घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्नुहुन्नः सांसद महत


काठमाडाैँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताएका छन् ।

आज अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको छलफलमा उनले घरजग्गामा अत्याधिक अनावश्यक किसिमले ज्यादा लगानी भएको बताएका हुन्। उनकाअनुसार अब पनि त्यस क्षेत्रमा कर्जा विस्तार गर्न दिइनु हुँदैन । बैंकहरूले ठूला उद्योगहरूलाई मात्रै कर्जा दिएर धेरै झमेला खेप्न नचाहेको बताए । महतकाअनुसार कृषि विकास बैंकले हाइड्रो पावरमा लगानी गर्दैछ । कृषिमा अझै कर्जा पुग्न सकिरहेको छैन ।

“घरजग्गामा भएको लगानी ठूलो भएको छ । अब प्रोत्साहन गर्न हुँदैन । उत्पादनशिल क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्छ । जसले घरजग्गामा धेरै लगानी गरेर धेरै नाफा कमाउन खोज्दैछ, अब नोक्शानी व्यहोर्न तयार हुनुप¥यो । मौद्रिक नीति गत समयममा भएका कमीकमजोरीबाट पाठ सिक्न जरुरी छ । साना कर्जा लिनेलाई धेरै ठूलो समस्या रहेको छ,” उनले भने ।