पार्टी अध्यक्षमाथि भ्रष्टाचारको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफः यो प्रश्न हामीले पनि गर्नुपर्ने हुनसक्छ


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरूले पनि प्रश्न गरिरहेको बताएका छन् ।

शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुट्नुभएका तपाईंका पार्टीका अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्नेकुरा कसरी विश्वास गर्ने ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उहाँले यो आम जनताको प्रश्न रहेको बताएका हुन्।

उनले यस्ता प्रश्नहरू आफूहरूले पनि गर्नुपर्ने हुनसक्ने बताए । आफूले हालै सम्पन्न पार्टीको सचिवालय बैठकमा लिखित दस्ताबेज प्रस्तुत गरेको र दस्ताबेजबारे पार्टीभित्रै छलफल भइसकेपछि बाहिर ल्याउने बताए ।

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीको मात्रै नभइ सिंगो कम्युनिष्ट आन्दोलनलाई वैचारिक क्रान्ति कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिका बारेमा अघि बढाउन आवश्यक रहेको बताए ।