मन्त्रीको घुस डिल बाहिरिएको छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छः सांसद पौडेल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलसम्बन्धी अडियोबारे प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गरेका हुन् । उनले सरकार भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए । उनले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गोकुल बास्कोटाले सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको स्मरण गर्दै त्यसैगरी जवाफदेही बन्न पनि आग्रह गरे ।

“मन्त्रीको घुस डिल बाहिरिएको छ । केपी ओलीजी प्रधानमन्त्री हुँदा पहिले गोकुल बास्कोटाजीले राजीनामा दिनुभएको थियो । दुनियाँ अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु–हामी भ्रष्टाचार गर्दैनौं । यो भनाई सम्माननीय प्रधानमन्त्रीज्यूको हो । सभामुख महोदय शून्य सहनशीलता कहाँ छ ? भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ सभामुख महोदय ? लोकतन्त्रको इमानी शासन प्रणाली कहाँ छ ?प्रधानमन्त्रीले जवाफ दिनको लागि म माग गर्दछु,” उनले भने ।

आफ्नो मान्छेले जे गर्दापनि हुन्छ भन्ने मानसिकताले देश थप संकटतर्फ जाने उनको टिप्पणी छ ।