काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका घटनाहरूबाट पाठ सिकेर मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारीमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् । उनले विपद् व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए ।
रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति र्पुयाएको उल्लेख गर्दै उनले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे ।
उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए । विपद् व्यवस्थापनका लागि सामूहिक प्रतिवद्धताको खाचो रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्