निजगढ विमानस्थललाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रूपमा निर्माण गर्ने सरकारको योजना


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँस्थित त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको चाप अत्याधिक बढेकाले वैकल्पिक विमानस्थलको उपयोगलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रलागत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले त्रिभूवन विमानस्थलको वार्षिक क्षमता ४५ लाख यात्रुको भएपनि यस आर्थिक वर्षमा ९५ लाख यात्रु ओहोरदोहोर भएको जानकारी दिएका हुन् ।

उनले त्रिभूवन विमानस्थलमा रहेको यात्रुको चाप पोखरा र भैरहवातिर स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निजगढ अन्तरराष्ट्रिय विमानस्थललाई काठमाडौँ फास्ट ट्र्याकसँग जोडिएको विकल्पको रुपमा अघि सारिएको उल्लेख गर्दै यसको मोडालिटी तय गर्न बजेटको व्यवस्था गरिएको समेत बताए ।

उनले पर्यटन क्षेत्रलाई नेपालको प्रमुख स्वरोजगार र अर्थतन्त्रमा योगदान दिने क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

“हामीले पर्यटन क्षेत्रलाई नेपालको एउटा प्रमुख स्वरोजगारको क्षेत्र र अर्थतन्त्रलाई योगदान पुर्याउने क्षेत्रको रूपमा लिइरहेका छौं । तीन वटा विमानस्थलहरु बनिसकेका छन् । काठमाडौँ विमानस्थलको चाप उक्त विमानस्थलले धान्नसक्ने क्षमता वार्शिक ४५ लाख यात्रु हो । तर यस वर्ष हामीले ९५ लाख यात्रुहरू ओहोरदोहोर गरायौं । त्यसैले यसको चापलाई हामीले बाहिर लिएर जानुपर्नेछ । पोखरा र भैरहवातिर लिएर जानुपर्नेछ,” उनले भने ।

नेपालको प्रकृति र संस्कृतिलाई विश्व सामु चिनाउन विमानस्थल निर्माण गरिएको दाबी गर्दै उनले विमानस्थल तादरुकताका सञ्चालन गर्नुपर्ने बताए ।