काठमाडाैँ । लागूपदार्थ सेवन गरी सवारी साधन सञ्चालन गर्ने दुई जना चालकलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सडक दुर्घटना न्यूनीकरण गर्दै यात्रुहरूको यात्रा सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याएको “लागूपदार्थ सेवन चेकिङ अभियान” अन्तर्गत असार ३१ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त टोलीले पुतलीबजार नगरपालिका–१ प्रगतिनगर र वडा नम्बर ४ नागडाँडा क्षेत्रस्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँच गर्दा उक्त दुई जना चालकले लागूपदार्थ सेवन गरेको भेटिएको हो।
प्रहरीका अनुसार बलेरो जिप (ग.१ ज. ६८२७) का चालक अर्जुनचौपारी गाउँपालिका–५, काउरे निवासी २३ वर्षीय गोविन्द बहादुर सुनार र ट्रयाक्टर (ग.१ त. ५१३०) का चालक आँधीखोला गाउँपालिका–६, सेतीदोभान निवासी २६ वर्षीय विशाल दर्जीले लागूपदार्थ सेवन गरेर सवारी सञ्चालन गरिरहेको पुष्टि भएको छ।
नियन्त्रणमा लिइएका दुवै चालकलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्