प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गर्नुभएको बताएका छन् ।

पत्रकार सम्मेलनका क्रममा सिंहदरबारमा बोल्दै उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको भन्ने आरोप निराधार रहेको बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरू प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाएकी थिइन् । आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको नभनेको बताएकी थिइन् ।

त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ । यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरु हुनसक्ने भन्दै अनुसन्धान सुरू गरिसकेको छ । प्रधामन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ । सोह सम्बन्धमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारविधि नै रहेको र भ्रम फिँजाइएकोमा आत्मालोचना सांसद स्वयंले गरिसकेको बताए । 

मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचिबाट बाहिर रहेर गएका तर नफर्किएकाहरुको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताए । प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा ३२ सै आना गलत भएको बताए ।