हरि बुढा मगरले गरे इजिप्टको सबैभन्दा अग्लो चुचुरो ‘माउन्ट ओलम्पस’ को सफल आरोहण


काठमाडौँ । किर्तिमानी नेपाली पर्वतारोही तथा अपांगता सचेतना अभियन्ता हरि बुढा मगरले ग्रीसको सर्वोच्च शिखर माउन्ट ओलम्पस (२,९१८ मि) सफलतापूर्वक आरोहण गरेका छन्। यससँगै उनी दुबै खुट्टा घुँडामाथिबाट गुमाएका व्यक्तिमध्ये उक्त शिखर चढ्ने विश्वकै पहिलो आरोही बनेका छन्।

युरोपको ऐतिहासिक तथा ग्रीसको सबैभन्दा अग्लो पर्वत माउन्ट ओलम्पस चढ्दै मगरले शारीरिक अपांगता जीवनको बाधा नभई प्रेरणाको स्रोत बन्न सक्ने सन्देश दिएका छन्। “यो यात्रा केवल शिखर चढ्नु मात्र थिएन, यो मेरो जीवनको उच्च उद्देश्य- अपांगता सचेतना फैलाउने र अरूलाई आफ्ना सपना पछ्याउन प्रेरित गर्ने यात्राको हिस्सा हो,” उनले भनेका छन्।

करीब १० घण्टाको कठिन आरोहण ग्रीसको क्रिस्टाकी रिफ्युजबाट सुरू गर्दै मगरले चुनौतीपूर्ण भौगोलिक अवस्थाहरू पार गरी सफलतापूर्वक शिखरमा पुगेर फर्किए। उनले यस यात्रालाई अपांगता भएका व्यक्तिका लागि प्रेरणाको शिखर भनेका छन्।

“यो यात्रा मेरो अद्भुत टिम, साथ दिने समर्थक र प्रायोजकहरूको अटुट विश्वास र सहयोगबिना सम्भव हुने थिएन। तपाईंहरूको साथप्रति म सधैं आभारी छु,”सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

‘नो लेग्स, नो लिमिट्स’ भन्ने नारासहित मगरले अपांगता सचेतना फैलाउने उद्देश्यले विश्वभर कार्यक्रम गर्दै आएका छन्। यसअघि उनले माउन्ट एभरेस्ट (८,८४८ मि), डेनाली (६,१९० मि), मोंट ब्लांक (४,८१० मि), अकोन्कागुआ (६,९६१ मि) र किलिमाञ्जारो (५,८९५ मि) जस्ता विश्वका अग्ला पाँच महादेशीय शिखरहरू सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

अब उनी बाँकी दुई महादेशका सर्वोच्च शिखरहरू- अष्ट्रेलियाको पुञ्चाक जया (कार्स्टेन्स पिरामिड) र अन्टार्कटिकाको विन्सन मासिफ-चढेर “सेभेन समिट्स च्यालेन्ज” पूरा गर्ने अभियानमा छन्।

सन् २०२३ मा माउन्ट एभरेस्टको सफल आरोहण गर्दै उनले नेपालमा अपांगता भएका व्यक्तिमाथि पर्वतारोहण प्रतिबन्ध हटाउन कानुनी लडाइँ जितेका थिए। यसमार्फत उनी अपांगता अधिकारको सवालमा प्रेरणादायी पात्रका रूपमा स्थापित भएका छन्।

मगरको यो नवीन कीर्तिमानले समाजमा रहेको अपांगता प्रतिको धारणा बदल्दै, ‘शरीरिक अवस्था होइन, मनको शक्तिले सफलता तय गर्छ’ भन्ने सन्देश विश्वमा फैलाएको छ।