काठमाडाैँ । महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता हासिल गरेको जनाएको छ।
शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले आर्थिक वर्ष २०८१ मा मुद्दा अभियोजनमा उल्लेख्य प्रगति भएको जानकारी दिए।
उनले हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपश्चात् २ हजार ७ सय ९० वटा मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरिएको जानकारी दिए । बाँकीमध्ये ४८६ वटा मुद्दा सर्वोच्च अदालतमा र ९५ वटा उच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरिएको हो।
“३ हजार ३ सय ७० वटा फाइलमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा मैले हस्ताक्षर गरें,” महान्यायाधिवक्ता बडालले भने, “त्यसमध्ये २ हजार ७ सय ९० वटामा पुनरावेदन नगर्ने निर्णय भएको छ।”
मुद्दा चलाउने वा नचलाउने सम्बन्धी प्रारम्भिक निर्णयमा पनि उल्लेख्य संख्यामा मुद्दा नचलाउने निर्णय भएको छ। कुल ३६८ वटा मुद्दामध्ये ३४० वटामा मुद्दा नचलाउने निर्णय भएको उनले बताए । बाँकी १० वटा मुद्दा भने चलाउने गरी फर्काइएको छ। केही अन्य मुद्दा थप अनुसन्धान र आवश्यकताअनुसार फिर्ता गरिएको बताइएको छ।
महान्यायाधिवक्ता बडालले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको पनि उल्लेख गरे । उनले यो फाइल संख्या घट्नुमा नायब र सह–न्यायाधिवक्तालाई निर्णय गर्ने अधिकार प्रत्यायोजन गरिएको कारण देखाए ।
“गत वर्ष हामीले अभियोजन गरेका सरकारवादी मुद्दामध्ये ६८ प्रतिशतमा सफलता हासिल गरेका छौं,” उनले भने, “सवारी ज्यानसम्बन्धी मुद्दामा कुनैपनि सजाय भएमा त्यसलाई हामीले सफलता मान्यौं।” उनले यो वर्ष सफलता दर अझै बढ्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्