राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैनः मन्त्री पन्त


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक गतिविधिहरूमा मन्त्रालयले हस्तक्षेप नगर्ने बताएका छन् ।

सिंहदरबारमा आईतवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको दफावार छलफल भएको थियो ।

जसक्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री पन्तले प्रयोगशालाका डे टु डे काममा मन्त्रालयले कुनै हस्तक्षेप नगर्ने बताए । प्रयोगशालाको लगानी सबै सरकारले गर्ने र नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरूको काम पनि यसले गर्ने बताए । सात प्रदेशमै यसको संरचना बनाउने प्रश्ताव रहेको भएपनि रातारात यसको संरचना बनाउन भने नसकिने स्पष्ट पारे। 

“यसको डे टु डे फंग्सनमा मन्त्रालयले कुनै भुमिका खेल्दैन । हस्तक्षेप गर्दैन । तर यसको लगानी सबै नेपाल सरकारले गर्ने हो । नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरूका काम पनि यसले गर्छ । विधेयकमा प्रस्तुत भएको कुरा ठिक छ । यसको संरचना रातारात बन्दैन । हामीले संरचना त लगेका छौँ सातै प्रदेशमा । यसको महंगो संरचना हुन्छ । त्यसका लागि समय लाग्छ,” उनले भने ।

समितिको बैठकमा सांसदहरूले भविष्यको अनुसन्धानमा तुलनात्मक अध्ययन पर्न सक्ने कुरालाई मध्यनजर गरेर विधेयक अघि बढाउनुपर्ने बताएका थिए । नयाँ प्रविधि र विधिहरुबाट पुरानो अभिलेखहरुको संरक्षण गर्न अति आवश्यक हुने धारणा राखे ।