काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले चालु आर्थिक वर्षमा १ सय २० वटा कानून निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् ।
आइतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव ढुंगानाले यस्तो बताएका हुन् । उनले संख्या महत्वाकाङ्क्षी भएपनि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र कार्यतालिका सहित सरकार अघि बढ्ने बताए । उनले मन्त्रालयगत रुपमा निर्माण गर्नुपर्ने कानून, त्यसको कार्ययोजना र कार्यतालिकासहित संसदमा पेश गरिसकेको बताए ।
“हामीले यो आर्थिक वर्षमा १२० वटा कानूनहरु निर्माण गर्छौं भनेर भनेका छौं । यो अलि महत्वाकांक्षी पनि छ । केही संशोधन ऐन पनि छ त्यसमा । १२० वटा ऐनहरू बनाउँछौं भनेर हामीले प्रतिवद्धता गरेर कार्ययोजना र कार्यतालिकासहित हामीले संसदमा पेश गरिसकेका छौं,” उनले भने ।
उनले मानव अधिकार कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माणमा समेत मन्त्रालयले तादरुकताका साथ काम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्