काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो एक वर्षे कार्यकालमा नीतिगत तथा संस्थागत सुधारमार्फत कृषकलाई दिइने सेवा र सहुलियतमा क्रमिक सुधार आएको बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफू नेतृत्वमा रहेको एक वर्षको अवधिमा कृषि उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र कृषकको जीवनस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गरिएको जानकारी गराए।
“कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो, लाखौं नेपालीको जीविकोपार्जनको आधार पनि हो। त्यसैले मन्त्रालयले यसलाई केन्द्रमा राखी विविध सुधारका कार्यक्रम अगाडि बढाएको छ,” उनले भने ।
विगत लामो समयदेखि समस्या बनेको रासायनिक मल खरिद र वितरणलाई सहज बनाउन नियमावली तथा कार्यविधिमा संशोधन गरिएको उनले जानकारी दिए। यसबाट मल आपूर्ति व्यवस्थापनमा देखिएका समस्याको समाधान हुने अपेक्षा गरिएको छ।
नेपाल कृषि सेवातर्फका कर्मचारीहरूको समायोजनअनुसार संगठन संरचनामा सुधार गर्दै १२९ नयाँ दरबन्दी थपिएको, बीउ विजन नियमावली २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको र कृषि तथा पशुपन्छी बिमा प्रणालीलाई डिजिटल माध्यममा आधारित बनाइएको पनि उनले बताए।
कृषि विधेयक र राष्ट्रिय कृषि नीति तर्जुमा अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री अधिकारीले पशु कल्याण ऐनको मस्यौदालाई पनि अन्तिम रूप दिइएको जानकारी दिए। यसका साथै, थन्किएर रहेका चारओटा खाद्य गुणस्तर परीक्षण मोबाइल भ्यानहरू पुनः सञ्चालनमा ल्याइएको छ।
नेपाल कृषि अनुसन्धान परिषद्को पुनःसंरचना प्रक्रिया अगाडि बढाइएको र कृषि प्रविधिको दर्ता, प्रसार तथा हस्तान्तरणका लागि संस्थागत संरचना निर्माण गरिएको पनि जानकारी गराइयो। यो कार्यलाई सघाउन नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा नार्कका सिफारिस प्रविधीमा कर्जा प्रवाह सहज गर्ने प्रावधान समावेश गरिएको छ।
कृषक उत्पादनमा वृद्धि र निर्यात प्रवर्धनका लागि चिया, कफी, अलैंची, छुर्पी जस्ता बालीहरूको उत्पादन वृद्धि, प्रांगारिक प्रमाणीकरण र निर्यात सहजीकरण कार्यक्रम सुरू गरिएको उनले जानकारी दिए । यसले कृषि प्रणालीलाई दीगो, व्यावसायिक र निर्यातमुखी बनाउने विश्वास मन्त्री अधिकारीले व्यक्त गरे।
मन्त्री अधिकारीका अनुसार पाँच ओटा पशुपन्छी रोग प्रयोगशालामा ल्याब इन्फरमेसन म्यानेजमेन्ट सिस्टम सुरू गरिएको छ। त्यस्तै, विषादीको गुणस्तर परीक्षणका लागि आवश्यक संरचना तथा कार्यक्रमबारे नीतिगत निर्णय गर्दै कार्य अगाडि बढाइएको छ।
रैथाने बालीको प्रवर्धनका लागि साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय भएको र याकको संरक्षणका लागि बैशाख ७ गते ‘राष्ट्रिय याक दिवस’ घोषणा गरिएको छ। उत्कृष्ट किसान प्रोत्साहनका लागि ७ प्रदेशका १४ जना किसानलाई राष्ट्रपतिबाट राष्ट्रिय उत्कृष्ट किसान पुरस्कार दिइएको उनले जानकारी दिए।
लामो समयदेखि नेतृत्वविहीन रहेका नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र पशु सेवा परिषद्मा नयाँ नेतृत्व दिइएको छ। चालु आर्थिक वर्षमा बाँदरलगायतका वन्यजन्तु नियन्त्रणको पाइलट कार्यक्रम, बाच्छी मात्र जन्माउने ‘सेक्सड सिमेन’ प्रविधि, प्रांगारिक कृषि प्रवर्धन तथा माटो स्वास्थ्य सुधार अभियान, निर्यातजन्य बालीको प्रवर्धन लगायतका कार्यक्रम अगाडि सारिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्