कुलिङ पिरियड लागू हुनैपर्छ, यसमा कम्परमाइज हुन सक्दैनः महत


काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् ।

विपी स्मृति दिवसमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । राज्य व्यवस्था समितिबाट सर्वसम्मत रूपमा प्रतिनिधि सभामा पठाइएको संघीय निजामति विधेयकमा कुलिङ पिरियडमा दुई वर्षे प्रावधान राखिएको थियो ।

तर प्रतिनिधि सभाबाट दुई वर्षे समयावधि हटाएर पारित भयो । समितिबाट पठाएको र संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि अहिले संसदीय छानविन समिति बनाएर अध्ययन भइरहेको छ । राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका छन् । तर काँग्रेस यसमा अडिग रहेको काँग्रेस नेताहरूको भनाइ छ ।

यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताए ।  भूमि विधेयक लगायत महत्वपूर्ण विषयहरूमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने बताए । गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताए ।