कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताए। उनले चुनौति आउँदैमा पलयन नै हुनुपर्ने उल्लेख गर्दै चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने बताए ।

अध्यक्ष नेपालले भने, ‘चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन । पलायन हुनुपर्ने कुनै आवश्यकता छैन । सबै किसिमको चुनौतिको सामना गर्ने वैचारिक संघर्षसित जोडिएको कुरा होस्, संगठनात्मक निर्माणसँग जोडिएको होस्, आन्दोलनको मोर्चामा उत्रिनुपर्ने कुरा होस्, जस्तोसुकै चुनौतिको पनि सामना गर्ने यदी आँट, साामथ्र्य छ भने र त्यही उद्देश्यअनुरुप अघि बढिरहिन्छ भने सही विचार पनि प्राप्त गर्न सकिन्छ ।

आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्नु उचित हुने भन्दै पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।

पार्टीलाई अनुशासनमा अघि बढाउनसके जनतामा आशा जगाउनसक्ने अध्यक्ष नेपालको भनाई छ ।

अध्यक्ष नेपालले समाजको परिवर्तन र रुपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरुको काँधमा रहेको उल्लेख गर्र्दै समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा रहेको बताए ।