स्याङ्जामा फरार कसूरदार पक्राउ, ११ जनामाथि ७ वर्षभन्दा बढी कैद र ८४ हजार जरिवाना


स्याङ्जा । अदालतको फैसलाअनुसार कैद तथा जरिवाना तिरेर नपुगी फरार रहेका विभिन्न मुद्दाका कसूरदारहरूलाई प्रहरीले पक्राउ गरेको छ।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयअन्तर्गत वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले साउन ८ गतेका दिन ११ जना फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट चेक अनादर, सार्वजनिक अपराध, लेनदेन, कुटपिट, लुटपाट, लागुऔषध कारोबार, सवारी ज्यान, चोरी र नकवजनी चोरीजस्ता विभिन्न मुद्दामा सजाय तोकिएको थियो। उनीहरू कैद तथा जरिवाना नतिरी फरार रहेपछि प्रहरीले निगरानी बढाउँदै नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकामध्ये भिरकोट नगरपालिका–७ का धनबहादुर खवासमाथि ३ वर्ष कैद सजाय तोकिएको थियो भने सोही वडाका हरीबहादुर कोइरालालाई ४ वर्ष कैद र १,८८७ रुपैयाँ जरिवाना फैसला गरिएको थियो। यसरी सबै पक्राउ परेकामाथि तोकिएको सजायको जम्मा अवधि ७ वर्ष १ महिना कैद र जम्मा जरिवाना रकम ८४ हजार ३९४ रुपैयाँ ४ पैसा पुगेको प्रहरीको विवरणमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अदालतको फैसलालाई चुस्त, दुरुस्त र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै न्यायिक प्रक्रिया पूर्ण गर्न र सुरक्षित समाज निर्माणमा टेवा पुर्‍याउन यस्तो विशेष अपरेसन सञ्चालन गरिएको हो।

पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको प्रहरीले जनाएको छ। फरार अभियुक्तको खोजीलाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्ने प्रहरीको भनाइ छ।