दुई आइजिन नम्बरको व्यवस्थासहित सिडिएससीले धितोपत्र बोर्डमा पठायो प्रस्तावित कार्यविधि


काठमाडौँ । सिडिएससी एन्ड क्लियरिङ लिमिटेडले संस्थापक सेयर र सर्वसाधारण सेयरको लागि फरक फरक आइजिन नम्बर दिन कार्यविधि तयार पारेको छ ।

पछिल्लो केही समयदेखि चर्चामा आएको आइजिन (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) को विवादले बजार तताइरहेका बेला कार्यविधि तयार भएको हो ।

विवादकै बिच सिडिएससी सञ्चालक समितिले ‘धितोपत्र अभौतिकिकरण कार्यसञ्चालन निर्देशिका २०८२’ पारित गरेर स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएको हो ।

कार्यविधिमा कम्पनीहरूको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयरको छुट्टाछुट्टै नम्बर जारी गर्ने व्यवस्था उल्लेख गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पठाएको हो ।

अबदेखि कुनै पनि कम्पनीले आइपिओ निष्काशन गरी सेयर सूचिकरण गर्दा प्रबन्धपत्र र नियमावलीमा भएको व्यवस्था अनुसार नै संस्थापक र सर्वसाधारणतर्फको आइजिन नम्बर उपलब्ध गराउने प्रस्ताव बोर्डमा पठाइएको सिडिएससीकी प्रमुख कार्यकारी अधिकृत प्रविण पन्दाकले बताइन् ।

सिडीएससी प्रमुख पन्दाकको भनाईअनुसार कम्पनीले आइपिओमा आउँदा साधारण सेयर र पब्लिक सेयर छुट्याएको छैन भने एउटै आइजिन नम्बर र यदी छुट्याएको छ भने फरक फरक आइजिन नम्बर प्रदान गरिने छ ।

पन्दाकले भनिन्,“हामीले कार्यविधि बनाएर बोर्डमा स्वीकृतिको लागि बोर्डमा पेश गरेका छौँ, हामीले पठाएको प्रस्तावमा बोर्डले थपघट गर्न पनि सक्छ, बोर्डले स्विकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।”

केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रीय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि अहिलसम्म कार्यविधि बन्न सकेको थिएन ।

कार्यविधि नबन्दा जलविद्युत क्षेत्रका कम्पनीलाई प्रबन्ध पत्र र नियमावलीमा भएको व्यवस्थाविपरीत एउटै आइजिन दिइदै आएको थियो भने लगानी तथा रियल सेक्टरका कम्पनीलाई कर्मचारीको तजबिजीमा कसैलाई एउटा र कसैलाई दुईवटा आईजीन दिने गरेको आरोप लाग्दै आएको थियो । कार्यविधि कार्यान्वयनमा आएपछि सबैलाई समान व्यवहार हुने सिडिएससी प्रमुख पन्दाकले बताइन् ।

यस अघि बैंक तथा वित्तीय संस्थाका कम्पनीलाई दुईओटा आइजिन नम्बर र रियल सेक्टरका कम्पनीलाई एउटै आइजिन दिने गरेको भनिए पनि केही रियल सेक्टरका केही कम्पनीलाई दोहोरो आइजिन नम्बर दिइएको छ ।

एउटै आइजिन तथा एउटै नेप्से कोडका कारण संस्थापक लगानीकर्ताले बजार बढेका बेला लकइनको अवधिमा समेत सेयर बिक्री गर्दै आएको आरोप लागेको थियो ।

अब सिडिएससीको उक्त व्यवस्था पछि सूचिकृत कम्पनीका संस्थापक सेयरधनीले लकइन पिरियड नखुलिकन लागि दोस्रो बजारमा सेयर बिक्री गर्न पाउने छैनन् ।

दुई आइजिन नम्बरको व्यवस्थासँगै दोस्रो बजारमा हुने ‘म्यानुपुलेसन’समेत रोकिने अपेक्षा सिडिएससीको छ ।

“अब सर्वसाधारण र संस्थापकका लागि फरक फरक आइजिन तथा कोड हुँदा कम्पनीले आफ्नो लकइन अवधि सकिएपछि प्रबन्ध पत्र र नियमावलीबाटै संस्थापक सेयर र पब्लिक सेयरलाई एउटै सेयर बनाएर ल्याउनुपर्छ,” पन्दाकले भनिन् ।

यसअघि आइपिओ जारी गरिसकेका कम्पनीको हकमा एउटै आइजिन र नेप्से कोड पाएका कम्पनीले पनि उक्त निर्देशिका लागू भएपछि आफ्नो कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गरेर एकै प्रकृतिका सेयरमा परिणत गर्नुपर्ने छ ।

यदी कम्पनीले एउटै आइजिनमा रहन चाहेमा आफ्नो कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा एउटै क्लष्टरमा सेयरमा परिणत गरी अध्यावधिक गराउनुपर्ने सिडिएससीको भनाई छ ।