श्रम क्षेत्रमा जुरेको जस्तै पहिरो गएको छः अध्यक्ष सिम्खडा


काठमाडाैँ । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमिकका अधिकारहरू कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौँमा ट्रेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरे । श्रमिकका अधिकारहरू बढारेर लगिएको जिकिर गरे। उनले श्रमिकले आफ्ना अधिकारहरू देख्न र भोग्न नपाउने जस्तो स्थिति बनेको बताए। श्रमीकहरूले अहिले धेरै दुःख र पीडा महशुस गरिरहेको उनको भनाइ छ । 

कार्यक्रममा बोल्दै ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय अत्याधिक बढिरहेको बताए । यसले श्रमीकहरूलाई सबैभन्दा बढी समस्यामा पारेको उनको भनाइ छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमिक वर्गमा परेको र उनीहरू रोजगारीबाट विमुख भइरहेको बताए । 

अन्य वक्ताहरूले पर्यटन र कृषि क्षेत्र समस्यामा परेको बताए । कृषि र पर्यटन क्षेत्रले नेपालको रोजगारीमा धेरै योगदान गरिरहेको उनीहरूको भनाइ छ । जलवायु परिवर्तनले श्रमिक, उद्यमशिलता, देशको अर्थतन्त्रमा ठूलो समस्या पारेको बताए ।