स्याङ्जामा लागुऔषधसहित एक युवक पक्राउ, अनुसन्धानका लागि १५ दिनको म्याद थप


काठमाडाैँ । स्याङ्जाकाे गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

मंगलबार बिहान करिब ६:१५ बजे अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना. ५ ख. ६९४७ नम्बरको यात्रुबाहक बसमा सवार एक यात्रुको साथबाट लागूऔषध बरामद गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्ने व्यक्ति नवलपरासी (पूर्व) विनयत्रिवेणी गाउँपालिका–७ शिवपुरका ३१ वर्षीय कृष्णबहादुर राना हुन्। रानाको साथबाट विभिन्न ब्राण्डका लागूऔषधहरू फेला परेका छन्।

उनको साथबाट कोडिन फस्फेट र ट्राइप्रोलिडिन हाइड्रोक्लोराइड मिश्रित ओनोरेक्स नामक झोलयुक्त औषधिको १० थान साना बोतल, डाइसाइकोमिन हाइड्रोक्लोराइड, ट्रामाडोल हाइड्रोक्लोराइड र एसिटामिनोफेन मिश्रित ८४ थान ट्याब्लेट, निटाभेट नामक ६० थान ट्याब्लेट, बुप्रेनोर्फिन इन्जेक्सनका ५९ एम्पुल, फिनेरगनका ५९ एम्पुल, डाइजेपाम इन्जेक्सनका ५९ एम्पुल तथा सिरिन्जसहितको १ थान सुई बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले रानाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।