काठमाडाैँ । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रूपैयाँ बराबरको कुल बजेटमध्ये ६७.२९ प्रतिशत कार्यान्वयन गरेको बताएको छ । यस वर्ष कृषि तथा पशुपन्छी क्षेत्रमा धेरै संरचनागत सुधार, किसान लक्षित कार्यक्रम र रोग नियन्त्रण अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रदेशको कृषि विकास सम्बन्धमा तयार पारिएको विधेयक, २०८० वागमती प्रदेश सभाबाट पारित भइसकेको र हाल प्रमाणिकरणको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । यो विधेयक कार्यान्वयनमा आएसँगै प्रत्येक वर्ष कार्यविधि बनाउने झन्झट हट्ने र कार्यक्रम कार्यान्वयनमा सहजता आउने बताइएको छ ।
मन्त्रालयले चालु वर्षमा २३ वटा नयाँ तथा एक पुरानो कार्यविधिको संशोधन स्वीकृत गरेको छ । यससँगै सेवा प्रवाहको पहुँच विस्तार गर्ने क्रममा कृषि तथा पशु सेवा कार्यालय नभएका जिल्लाहरूमा सेवा केन्द्र स्थापना गरेको छ । गत वर्षदेखि सञ्चालनमा ल्याइएको ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई थप विस्तार गर्दै मन्त्रालयले यस आर्थिक वर्षमा थप २५ वडालाई समेट्दै कुल ७० वडासम्म पुर्याएको छ ।
समुदायमा आधारित खेती प्रणालीमार्फत वडालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित हरेक वडामा ४० लाख रुपैयाँ बराबरको साझेदारी सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्राकृतिक र गैरप्राकृतिक विपद्बाट क्षति व्यहोरेका ३३० जना किसान र ६ वटा फार्मलाई १ करोड २२ लाख रुपैयाँभन्दा बढी राहत रकम वितरण गरिएको ,साथै पशु स्वास्थ्यका क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्रालयले जनाएको छ ।
पिपिआर रोग नियन्त्रणका लागि १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिँदै १५ लाखभन्दा बढी भेडाबाख्रालाई खोप दिइएको छ भने लम्पी स्किन डिजिज विरुद्ध ७२ हजार गाईभैंसीमा निःशुल्क खोप लगाइएको वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए ।
पशुपन्छी रोग अन्वेषण र अनुसन्धानको उद्देश्यले चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा ‘बायो सेफ्टी लेभल टु प्लस’ प्रयोगशाला निर्माण कार्य सम्पन्न भई विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रयोगशाला सञ्चालनमा आइसकेको र यसले पशुपंक्षीका विभिन्न रोगहरूको सटीक निदानमा सहयोग पुर्याउने उल्लेख गरिएको छ ।
त्यसैगरी, हेटौंडामा निर्माण सम्पन्न भएको दूध पाउडर प्लान्ट सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। उक्त प्लान्टले दैनिक ६० हजार लिटर दूध प्रशोधन गर्ने क्षमता राख्दछ । हाल डेरी विकास संस्थानमार्फत यसको परीक्षण सञ्चालन भइरहेको छ । साथै हेटौंडा–११ मा निर्माण सम्पन्न भएको प्रादेशिक कृषि थोक बजार पनि आगामी साउन १८ गते औपचारिक रूपमा हस्तान्तरण गरिने तय भएको कृषिमन्त्री श्रेष्ठले बताए ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयले अझ महत्वाकांक्षी कार्यक्रमहरू अघि सारेको छ । कृषि क्षेत्रमा लगानी प्रवद्र्धनका लागि १० करोड रुपैयाँको कर्जा सुरक्षण कोष, ५ करोडको सहुलियतपूर्ण व्याज अनुदान, स्मार्ट कृषि फार्म र स्मार्ट पशुपन्छी फार्म स्थापना, आधुनिक बधशाला निर्माण र जैविक मल कारखानाको निरन्तरताजस्ता कार्यक्रम अघि सारिएका छन् ।
पशुपन्छी तथा मत्स्य व्यवसायलाई प्रवद्र्धन गर्न स्टार्टअप ग्रान्टमार्फत २० करोडको बजेट विनियोजन गरिएको छ भने किसानलाई राहत, व्यवसायिक खेती प्रवर्धन, च्याउ र फूल सजावट खेती, कृषि बजार सूचना प्रणाली र आधुनिक ग्रिन हाउस निर्माणजस्ता कार्यक्रम पनि अघि सारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्