मधेसमा सुख्खाग्रस्त क्षेत्र घोषणा बाहेक केही नभएको भन्दै विपक्षी दलहरूले बुझाए ज्ञापनपत्र


काठमाडाैँ । मधेस सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जनता समावादी पार्टी, नेपाल मधेसका संसदीय दलका नेता एवं मधेसका पूर्वमुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा बसेको विपक्षी दलहरुको बैठकबाट सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णयअनुसार विपक्षी दलहरूले संयुक्त रूपमा प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रदेश सरकारले गत साउन ६ गते मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि किसानका लागि खासै केही गर्न नसकेको उनीहरूकाे आरोप छ । सरकारमाथि दबाब बनाउने उद्देश्यले ध्यानाकर्षण पत्र सरकारलाई बुझाइएको विपक्षी दलका नेताहरुले बताएका छन् ।

विपक्षी दलहरूले संयुक्त रूपमा बुझाएको ध्यानाकर्षण पत्रमा किसानका लागि राहत प्याकेजको माग, किसानको ऋणमा सहुलीयतका लागि संघ सरकारसंग पहल गर्न माग, सिंचाईको तत्काल उचित प्रवन्ध, सतही सिंचाई तथा भूमिगत जलश्रोतको प्रवन्ध मिलाउन नदी, नाला, पोखरी लगायतका जलाशयहरुको मर्मतसम्भार तथा नयाँ जलाशय निर्माण, चुरेको वन संरक्षणमा ध्यान पु¥याउनु पर्ने, खानेपानीको उचीत प्रबन्ध मिलाउन माग गरिएको हो ।

ध्यानाकर्षण पत्र बुझाउनका लागि जसपा, नेपालको तर्फबाट सरोज यादव, नेकपा (माओवादी केन्द्र) को तर्फबाट युवराज भट्टराई, नेकपा (एकिकृत समाजवादी)को तर्फबाट कनिष पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट विमला अन्सारी तरन्नुम उपस्थित थियाे ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री सतिशकुमार सिंहले विपक्षी दलहरूले बुझाएको ध्यानाकर्षण पत्रलाई आफूहरुले सरकारसँगको ऐक्यवद्धताको रुपमा लिएको र यसलाई साकारात्मक रूपमै लिएको बताए । उनले सरकार सिंचाई तथा खानेपानीको समस्या हल गर्नका लागि गम्भीर रहेको बताए ।

पछिल्लो समय सिंचाईको समस्याले धान उत्पादनमा ह्रास आइरहेको र धानको उत्पादन घट्दा किसानलाई उत्पादनको हिसावले फाइदा पुग्ने गरी अर्को बालीको विषयमा समेत आफूहरु गम्भीर रहेको बताए ।