एनआरएनएद्वारा सेयर अभौतिकीकरण प्रस्तावप्रति आपत्ति, वैदेशिक लगानीमा नकारात्मक असर पर्ने चेतावनी


काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) द्वारा हालै नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष पेस गरिएको सेयर अभौतिकीकरणसम्बन्धी प्रस्तावप्रति ध्यानाकर्षण गराएको छ।

संघले उक्त प्रस्तावले नेपालको पूँजी बजार, लगानी वातावरण र प्रवासी नेपालीबाट हुने वैदेशिक लगानीमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

सीडीएससीले हालै सेबोनमा पेस गरेको प्रस्तावमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरणका लागि संस्थापक र सर्वसाधारण सेयर अलग-अलग गरी दुईवटा इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन) दिने व्यवस्था राखिएको छ।

एनआरएनएका अनुसार यस्तो प्रस्ताव कार्यान्वयनमा गएमा विदेशमा बस्ने संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलनुका साथै सेयर कारोबारमा अन्योल सिर्जना हुने, दीर्घकालीन रूपमा पूँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर पर्ने खतरा देखिएको छ।

संघले स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने काम गर्दै आएकोमा पछिल्लो समय ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप तथा वित्तीय क्षेत्रमा प्रवासी नेपालीहरूबाट उल्लेखनीय लगानी भइरहेको छ। यस्ता लगानी अहिलेको आर्थिक सुधार र पूर्वाधार विकासमा महत्वपूर्ण स्रोत भएको संघको ठहर छ।

“गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता र कानुनी स्पष्टता अपेक्षा गर्छन्। तर प्रस्तावित व्यवस्था लागू भएमा संस्थापक शेयरधनीहरूलाई शेयर बिक्री गर्न कठिनाइ हुने, वैदेशिक लगानी फिर्ता गर्न नसकिने तथा कानुनी अन्योल सिर्जना भई अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जाने सम्भावना छ,” विज्ञप्तिमा भनिएको छ।

संघले नेपाल धितोपत्र बोर्ड (सेबोन), अर्थ मन्त्रालय, र सिडीएससीलाई प्रस्ताव पुनर्विचार गर्न, गम्भीर छलफलमार्फत समग्र प्रभाव मूल्यांकन गर्न, र लगानीमैत्री वातावरणलाई ख्याल गर्दै सन्तुलित निर्णय लिन आग्रह गरेको छ।

संघले सम्पूर्ण प्रवासी नेपाली समुदायको तर्फबाट नेपालमा निजी क्षेत्र, प्रवासी लगानीकर्ता र वैदेशिक लगानीकर्तालाई उत्साहित बनाउने कानुनी तथा प्रणालीगत नीति निर्माणको माग गरेको छ।

Skip This