काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारणले नेपाल विश्वभर चिनिएको बताउँदै यस धरोहरलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्र् ।
शुक्रबार राजधानीमा आयोजित गुरु पद्मसंभवको जन्म दिवसको विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएकै कारण नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या दिनप्रतिदिन बढिरहेको बताएका हुन्। “हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ,” मन्त्री पाण्डेले भने ।
उनले गुरु पद्मसंभवको योगदानको स्मरण गर्दै भने, “हिमाली बौद्ध परम्परालाई उहाँले मात्र अगाडि बढाउनुभएन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गर्नुभयो। आज विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्वपूर्ण आधार नै उहाँको योगदान हो।”
पहिलोपटक गुरु पद्मसंभवको जन्म दिवसलाई औपचारिक रूपमा विशेष कार्यक्रम आयोजना गरेर मनाइएको कुरालाई ऐतिहासिक कदमको रूपमा उल्लेख गर्दै मन्त्री पाण्डेले यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमहरूलाई आगामी दिनहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतिकरण नेपाल सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री पाण्डेले बुद्ध र वेदको ज्ञानलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्