काठमाडौँ । काठमाडौँमा अवैध रूपमा क्रिप्टोकरेन्सी प्रयोग गरी लाखौं रुपैयाँको कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुशान्त दाहाल नामक २१ वर्षीय युवकलाई क्रिप्टो मुद्राको अवैध कारोबार गरेको अभियोगमा पक्राउ गरिएको हो।
परिसरका प्रवक्ता कुलदिप चन्दका अनुसार साउन १७ गते साँझ करिब ६ बजे काठमाडौँ महानगरपालिका वडा नम्बर १४, कलंकी क्षेत्रमा क्रिप्टो मुद्राको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले दाहाललाई नियन्त्रणमा लिएको हो। उनी मकवानपुर हेटौंडा वडा नम्बर १६ चिसापानी स्थायी बासिन्दा हुन् भने हाल भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ कौशलटारमा बसोबास गर्दै आएका थिए।
प्रहरीले दाहालले युएसडिटी, बिटक्वाइन, इथरियम, बाइनान्स क्वाइन जस्ता अभौतिक मुद्राको प्रयोग गरी नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३ सय ८८ भन्दा बढी रकमको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जनाएको छ।
प्रहरीले उनको साथबाट एक थान मोबाइल फोन र दुई थान सिमकार्ड समेत बरामद गरेको छ । प्रवक्ता चन्दका अनुसार अभौतिक मुद्राको कारोबारसम्बन्धी कसूरमा दाहालमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्