काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरु परिचालन गर्न निर्देशन दिएका छन् ।
नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी र बबई नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मीहरु परिचालन गर्न निर्देशन दिएका हुन् ।
कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले बबई र भेरीमा जलस्तरले खतराको तह पार गरेको अवस्थामा त्यहाँको स्थितिबारे जानकारी लिएकाे बताए ।
उनले जनधनको क्षति हुन नदिन समयमै शतर्कता अपनाइ सुरक्षाकर्मीहरु जोखिमयुक्त स्थानमा तैनाथ गर्न निर्देशन दिएको बताए । साथै मंगलावर (आज) महाकाली र कर्णालीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेकाले त्यहाँ पनि सचेत हुन आग्रह गरेका छन् ।
उनले भने, “राप्ती र बबई नदीमा जलस्तर बढेको स्थितिमा आकस्मिक बैठक बोलाउनुभएको हो । त्यो बाहेक देशभर विपद्मा के भइरहेको छ र कहाँ पानी कति परेको छ भन्ने सन्दर्भमा छलफल गरेका छौँ । आजका लागि राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा अलि बढी पानी पर्ने भएकाले र जलस्तर बढेकाले सचेत हुन सबै सम्बन्धित जिल्लाका सिडिओहरुलाई र सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभयो । राप्ती र बबईमा जलस्तर खतराको तह पार गरेको हुनाले सूचना जारी गरिसकेका छौँ । त्यही क्षेत्रमा कर्णाली र महकाली रहेकाले जलस्तर बढ्नसक्ने आँकलन छ । त्यो क्षेत्रका सबै नदीहरुमा सचेत रहन सूचना जारी गरिएको हो ।”
कार्यकारी प्रमुख भट्टकाअनुसार कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिएका थिए । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यहाँको वस्तुस्थिति बारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्