काठमाडाैँ । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन्।
नेरुडे लघुवित्तमा करिब १ हजार १ सय जना कर्मचारी कार्यरत छन् भने उपकार लघुवित्तमा १०० भन्दा बढी कर्मचारी कार्यरत छन्।
नागरिक लगानी कोषको उपदान योजनामा संगठित संस्था र ती संस्थाका कर्मचारीहरूले सहभागिता जनाउन सक्ने व्यवस्था रहेको छ। यस अन्तर्गत योगदानमा आधारित वा गैर–योगदानमा आधारित ढाँचामा संस्थाहरूले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्।
यसअघि पनि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड यस योजनामा आवद्ध भइसकेको छ। नागरिक लगानी कोषले २०५५ देखि सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी र कामदारहरूको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने व्यवस्था छ।
हाल यस योजनामा १ हजार १५० संस्थाहरू र करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन्। व्यक्तिगत रूपमा सहभागी हुने कर्मचारीहरूले आवास कर्जा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
साथै, सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पारिवारिक आवश्यकताका लागि पनि सरल कर्जा सुविधा पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्