एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन


काठमाडौँ । एनसेल फाउन्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयका आधारभूत मान्यता, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको संग्रहालय इतिहास समेटिएको अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ आज विमोचन गरिएको छ।

नारायणहिटी दरबार संग्रहालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नल विमोचन गर्दै नेपालका संग्रहालय र त्यहाँका सामग्रीले नेपालीको गर्व बढाएको बताए। उनले संग्रहालय दर्ता, मापदण्ड र व्यवस्थापनसम्बन्धी नीतिगत काम सरकारले अगाडि बढाइरहेको जानकारी पनि दिए।

एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सार्वजनिक–निजी साझेदारीअन्तर्गत आइकम नेपालसँग सहकार्य गर्दै सांस्कृतिक सम्पदा संरक्षणमा सहयोग पुर्याउन पाउँदा खुसी लागेको बताइन्। उनले नेपाली कला र सांस्कृतिक सम्पदाको संरक्षण एनसेल फाउन्डेसनको प्राथमिकतामा रहेको पनि उल्लेख गरिन्।

नेपालका लागि युनेस्को प्रतिनिधि याको दु तोइले संग्रहालयले सांस्कृतिक प्रवर्धन, सामुदायिक छलफल र शिक्षामा खेलेको भूमिका औँल्याए र संग्रहालय संस्कृतिको विकास आवश्यक रहेको बताए।

आइकम नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा आइकमले निरन्तर काम गरिरहेको बताए। उनले परियोजनाअन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी संग्रहालयकर्मीलाई तालिम प्रदान गरिएको जानकारी दिए।

परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने, संग्रहालयसम्बन्धी स्रोत सामग्री निर्माण तथा प्रसार गर्ने काम समेटिएको थियो। यसअन्तर्गत संग्रहालयको इतिहास र विकास यात्रा समेटिएको श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माण गरिएको छ।