मुगु सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडाैँ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगु जिल्लाकाे सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित इन्जिनियर, वडा अध्यक्ष र अन्य १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।

आरोपपत्रअनुसार आर्थिक वर्ष २०७७/०७८ मा सोरु गाउँपालिका वडा नम्बर १ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरिएको पाइएको हो।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु. ३६ लाख ४० हजार अनुदान तथा रु. ३ लाख ७३ हजार जनश्रमदानसहित कूल लागत अनुमान रु. ४० लाख १३ हजार ४३९ मा योजना सम्झौता गरी कार्यदेश दिइएको थियो।

तर प्राविधिक प्रतिवेदन र स्थलगत नापजाँच गर्दा नापी किताबमा देखाइएका भन्दा कम मात्र काम सम्पन्न भएको देखिएको छ। विशेषतः अर्थवाेर्क इन इक्साभेसन, स्टाेन साेलिङ, राेड साइट पीसीसी (१ः२४) र ड्राइ स्टाेन मासाेनरिका काममा क्रमशः ३२.५२, ३२.५२, १६.२६ र ५.९५ घनमिटर बढी देखाइएको पाइएको हो।

यसरी नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा गलत विवरण पेश गरी आपसी मिलेमतोमा रु. ७ लाख ६ हजार ७९९ रुपैयाँ बढी भुक्तानी दिने/लिने काम गरेको पुष्टि भएकाले सो सम्बन्धमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।