काठमाडौँ । भोलि (मंगलबार) बाट सुरू हुने ‘नाडा अटो साे २०२५ को तयारी धमाधम भइरहेको छ ।
भदाै ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भुकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा चल्ने १७ औं संस्करणको नाडा अटो साे का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ ।
उक्त सोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ। ‘गो फर मोर’ भन्ने नाराका साथ सञ्चालन हुने अटो साेमा नवप्रविधि, दिगोपन, स्मार्ट मोबिलिटी र सम्पूर्ण अटोमोटिभ पारिस्थितिकी प्रणालीलाई समेट्ने तयारी गरिएको छ।
यस संस्करणको मुख्य आकर्षणमा पहिलोपटक नेपालमै सार्वजनिक हुने फ्लाइङ कार ‘दिपल इभीटीओल युएभी’ रहनेछ । एमएडब्ल्यू समूहको सहप्रायोजनमा प्रदर्शनीमा राखिने यो उड्ने कार चांगन अटोमोबाइल र सहरी हवाई यातायात प्रविधिमा काम गर्ने चिनियाँ कम्पनी इह्याङगको साझेदारीमा विकास गरिएको हो ।
पूर्ण विद्युतीय प्रविधिमा आधारित यो फ्लाइङ कार सिधै उड्न र अवतरण गर्न सक्षम छ जसलाई अनम्यान्ड एरियल भेहिकलका रूपमा परिभाषित गरिएको छ । चीन, अमेरिका र खाडी मुलुकहरूमा कानूनी ढाँचा निर्माण र परीक्षणको चरणमा पुगेको यो प्रविधि अब नेपाली दर्शकले पनि प्रत्यक्ष अवलोकन गर्न पाउने नाडाले जनाएको छ ।
त्यसैगरी अटो सोमा चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेको ‘युनिट्री’ रोबोट पनि प्रदर्शनीमा राखिनेछ । यस कम्पनीले ‘रोबोट म्यान’ र ‘रोबोट डग’ दुवै मोडल विकास गरेको छ जसलाई प्रदर्शनीमा प्रत्यक्ष देख्न सकिने नाडाको दाबी छ ।
चारपाङ्ग्रे अटोनोमस डिजाइनमा तयार गरिएको युनिट्री रोबोटलाई भविष्यको मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरिँदैछ । यसपटक युनिट्री ‘नाडा अटो सो २०२५’ को टाइटल स्पोन्सरसमेत हो जसले प्रदर्शनीको प्रविधिक पक्षलाई अझ बलियो बनाएको छ ।
साेमा चारपांग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारी साधनका साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक लगायत १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्। प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको छ भने प्रदर्शनी क्षेत्रफल मात्रै १ लाख ६२ हजार ५ सय वर्गफुट रहेको छ। आयोजकले एक लाखभन्दा बढी आगन्तुकको उपस्थितिको अपेक्षा राखेको छ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड तथा ३५ कम्पनीका अटो पार्ट्स र सहायक सेवाहरू समेत प्रदर्शित हुनेछन्।






प्रतिक्रिया दिनुहोस्