नेपाल सरकारले भन्यो : लिपुलेक नेपालको अभिन्न भूभाग हो


काठमाडौँ । नेपाल सरकारले नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेको छ ।

भारत र चीनद्वारा लिपुलेकबारे नेपाललाई फेरि बेवास्ता,पुन : सीमा व्यापार गर्ने सहमति गरेपछि नेपालले प्रतिक्रिया जनाएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।”

नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै रहेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त क्षेत्र नेपाली भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबिचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको पनि उल्लेख गरेको छ ।