संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व सुरु हुन्छः गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् ।

आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताए । संविधान निर्माणको लागि २० वर्ष लागेको स्मरण गर्दै गृहमन्त्री लेखकले संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने दावी गरे ।

उनले भने, ‘एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ । यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दैछौँ, आजको द्वन्द्वको नेचर कस्तो छ, भने हामी संघियतामा छौँ । दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागी द्वन्द छ । अधिकारको बाँडफाँडको लागी द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व । तर यदी संविधान असफल भयो भने अकल्पनिय द्वन्द्वहरु यो देशमा शुरु हुन्छ । जसले अब २० वर्षमा पनि संविधान बनाउनसक्ने स्थिति हुँदैन ।

संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाई छ । समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला काँग्रेस र एमालेले सहमति गरेको बताए ।

तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उनले स्वीकार गरे ।

अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउनु जायज रहेको उल्लेख गर्दै लेखकले अहिलेको संविधानमा कतिपय कुराहरु समेट्न खोज्दाखोज्दै पनि नसकिएको बताए ।