भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबिच एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति


काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

आइतबार काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दक्षिणपूर्वी एशिया प्रशान्त महाशाखाका प्रमुख तथा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समग्र छलफल भएको छ । उनकाअनुसार दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवद्र्धनका लागि एयर कनेक्टिभिटी बढाउने, साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिए ।

उनले भने, ‘नेपालमा भियतनामको लगानी प्रवद्र्धन गर्ने र व्यावार, लगानी, डिजिटल ट्रान्सफर्मेसनमा पनि द्विपक्षीय कुराकानी भयो । जनस्तरको सम्बन्धलाई पनि अगाडि बढाउने र दुवै देशले अन्तरराष्ट्रिय कुटनीतिका साझा धारणालाई अझै मजबुत बनाउने सहमति भएको छ । त्यसैगरी नेपालमा वातावरणीय समस्याले ल्याएको जुन जलवायु परिवर्तनको समस्या छ । त्यसको कारणले नेपालले भोग्दै आएको समस्याबारे पनि विस्तृत कुराकानी भयो । यी सबै क्षेत्रमा दुवै मुलुकले सकार्य गरेर अगाडि बढ्ने कुराकानी भयो ।’

नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा शनिवार काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल र भियतनाम कुटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा भएको हो । यो नै भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण समेत हो ।