गणतन्त्रको ढाँचाअनुसार अर्थतन्त्र नहुँदा समस्या आयो : विप्लव


रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रबिक्रम चन्द विप्लवले आजको सङ्कटको कारण गणतन्त्रको अर्थतन्त्रमा परिवर्तन नआउनु मुख्य कारण रहेको जोड दिएका छन् ।

रुपन्देहीमा भएको कार्यक्रममा बोल्दै अहिले मुलुक भ्रष्टाचारले खाएको भन्दै गणतन्त्रको अर्थतन्त्रमा परिवर्तन नआउनु नै सङ्कटको मुख्य कारण भएको बताए ।

महासचिव विप्लवले कानुनहरू पुराना रहेको, नेपालको अर्थतन्त्र सिमित व्यक्तिको कब्जामा परेको, भ्रष्टाचार बढेको उल्लेख गर्दै समग्र सङ्कट आउनुमा गणतन्त्रको ढाँचाको आर्थिक व्यवस्था नभएकाले भएको बताए ।

उनले भने,“‘आजको सङ्कटको कारण गणतन्त्रको ढाँचाअनुसार अर्थतन्त्रमा परिवर्तन नआउनु हो ।”

गणतन्त्र प्राप्तीपछि कुन वर्ग, कुन विचार र कुन नेतृत्व भन्ने टुङ्गोमा नपुग्दा समस्या आएको विप्लवको जिकिर थियो ।

उनले गणतन्त्रसम्मको परिवर्तनलाई आत्मसाथ गर्दै यसपछिको नेतृत्वको पुर्नगठन जरुरी रहेकोमा समेत जोड दिए । उनले कम्युनिष्ट आन्दोलनका पुनर्गठन गरी वास्तविक समाजवादको अभ्यास गर्न चाहेको बताए ।

महासचिव विप्लवले नेपालमा असल कम्युनिस्ट पार्टी बनाउने चाहना रहेको समेत बताए ।

उनले भने,“हाम्रो सपना असल कम्युनिष्ट पार्टी बनाउने छ, विगतमा कम्युनिष्ट नेता र पार्टीहरुले गरेका कमजोरीहरूसच्चाएर अगाडि बढनु पर्छ, नेपालको राजनीति र कम्युनिस्ट आन्दोलन अहिले दिग्भ्रमित छ । रनभुल्ल जस्तो भएको छ । दिग्भ्रमबाट दिग्दर्शन चाहिएको छ । त्यो नेपाली विशेषताको समाजवाद हो ।”