एक उद्यमीको आत्मसंघर्ष


मानव जीवन यात्रा नै संघर्षको अन्तहीन सिलसिला हो । यस यात्रामा व्यक्तिले आफ्नो विवेक, आस्था र समर्पणका आधारमा निर्णय लिन्छ र कर्ममा अग्रसर हुन्छ । तर, प्रायः यो क्रममा उसले आफ्ना निःस्वार्थ प्रयासहरूलाई नै प्रश्नको कटघरामा राखिएको पाउँछ ।

उसको इमानदारी,परिवारप्रतिको प्रेम,समाजप्रतिको दायित्वबोध र देशप्रतिको समर्पणलाई ‘दोषी चस्मा’ लगाएर हेरिन्छ । यो कथा त्यस्तै एक अभियानकर्ता, उद्यमी र समाजसेवीको आन्तरिक संघर्षको कथा हो-जसले आफ्नो सम्पूर्ण जीवन सामूहिक उन्नतिको निम्ति समर्पण गरेकोमा पनि आफूलाई अकारण आलोचनाको शिकार पाउँछ ।

परिवार वा आधार ?

उद्यमीको जीवनको सबैभन्दा ठुलो आधार उसको परिवार हो । आमा–बुबाको आशीर्वाद, श्रीमतीको सहयोग र छोरा–छोरीको हाँसो उसको संघर्षको प्रेरणा हो ।

उसको लागि परिवार भनेको आत्मीयताको केन्द्र हो, जसले उसलाई धैर्य, संयम र साहस सिकाउँछ । परिवारबाट प्राप्त शक्ति र शान्तिले उसलाई कठिनाइहरू सहन सक्ने सामथ्र्य दिन्छ ।

उसको लागि परिवार नजिकका मानिसहरू मात्र होइनन्, बरु जीवनको ऊर्जा–केन्द्र हुन् । उनीहरूको माया, विश्वास र बलिदानबिना उ आफै उद्यमशीलताको बाटोमा टाढासम्म पुग्न सक्दैनथ्यो ।

तर, दोषी चस्माधारीहरूको लागि, परिवारप्रतिको यो माया नै उसको सबैभन्दा ठुलो दुर्बलता हो । उनीहरूको दृष्टिमा, परिवारलाई प्रेम गर्नु भनेको समाजलाई बेवास्ता गर्नु हो । उनीहरू भन्छन्,“उनी परिवारप्रेमी भएकैले समाजप्रेमी होइनन् ।” यसैले गर्दा उद्यमीको मनमा गहिरा प्रश्नहरू उब्जिन्छन्–

के बुवा–आमाको आशीर्वादलाई मेरुदण्ड मान्नु स्वार्थ हो ?
के पत्नीलाई जीवनसाथी मात्र होइन, आत्मिक शक्ति ठान्नु अपराध हो ?
के छोराछोरीलाई उज्यालो भविष्य दिनु लोभ हो ?
के दोषी चस्मा लगाउनेहरूको दृष्टिमा परिवार नै अभियोग हो ?

समाजसेवाः सेवा वा छल ?

उद्यमीको हृदय सँधैं समाजका लागि धड्किन्छ । उसको सपना समाजमा रोजगारी सिर्जना गर्ने, अवसरविहीनहरूलाई अवसर दिने र सामूहिक उन्नतिको मार्ग प्रशस्त गर्ने हो ।

उसको उद्यमशीलता कुनै व्यक्तिगत लाभको लागि होइन, बरु सामूहिक शक्तिको साधना हो । उसको मतमा समाज बिना व्यक्तिगत जीवन अधुरो हुन्छ । यदि उसले मात्र आफ्नो परिवारको लागि जिउँथ्यो भने आराम पाउँथ्यो तर आत्मसन्तुष्टि पाउने थिएन । किनकि समाजमा दुःखी, अवसरविहीन र सपना खोज्दै–खोज्दै थाकेका मानिसहरू छन् ।

उसको लागि समाज नै श्वास हो र समाजबिना उसको अस्तित्व अधुरो छ । तर, केही स्वघोषित ‘समाजसेवी’हरूको दृष्टिमा, उद्यमीको यो प्रयास शोषण, स्वार्थ र आडम्बरमा सीमित छ । उनीहरू गिद्धजस्तै उड्न्छन् र उसको कर्मलाई शिकार बनाउँछन् । उनीहरू उसको बाटोमा ठेगाना लेखेर उभिन्छन् र उसलाई शत्रुको रूपमा हेर्छन् । यसले उद्यमीको मनमा गम्भीर प्रश्नहरू जन्माउँछ :
किन ती स्वघोषित समाजसेवीहरू मलाई शत्रु ठान्छन् ?
किन उनीहरू गिद्धे दृष्टिले आफ्नो कर्मलाई शिकार सम्झन्छन् ?
के वास्तविक समाज मौन छ र ती चश्माधारीहरू नै समाजको प्रतिनिधि हुन् ?
के मैले समाजलाई प्रेम गर्दा दोषी चस्मा लगाउने केही समाजसेवीहरूको अभियोग मात्र कमाउने हो ?

मित्रताः सहयोग वा स्वार्थ ?

उद्यमीको जीवनमा असल मित्रहरूको कमी छैन तर उसले मित्रता बनाउन धन वा पदको आधार लिएन । उसले मित्रता बनाउन प्रतिभा र इमानदारीलाई आधार बनाएको छ । प्रतिभावान मानिसहरूलाई देख्दा उसलाई सधैं लाग्छ कि यी नै समाजका उज्याला दीपक हुन् । उनीहरूसँग बसेर, कुरा गरेर, उसले धेरै सिकेको छ ।

उसले साथीहरूलाई उठाएको छ, सहयोग गरेको छ र उनीहरूको हित खोजेको छ तर आज उसले आफूलाई एक्लो महसुस गर्छ । किनभने दोषी चस्मा लगाउनेहरूले उसको मित्रतालाई पनि शंका र उपहासको रङ् लगाइदिएका छन् । यसले उसको मनमा निम्न प्रश्नहरू जन्माउँछ :

के मित्रतालाई हितको दृष्टिले हेर्नु मूर्खता थियो ?
के सहयोग अन्ततः आत्म–अपमानको बाटो मात्रै हो ?
के साथीहरूलाई असल मित्रको रूपमा अँगाल्नु नै मेरो अपराध थियो ?

उद्यमशीलता : साधना वा शोषण ?

उद्यमीको लागि उद्यमशीलता भनेको जीवनसाधना हो । यो व्यक्तिगत सम्पत्ति सङ्ग्रह गर्ने उपकरण होइन, बरु सामूहिक शक्ति निर्माण गर्ने माध्यम हो । सुरुवातमा धेरैले सोचे कि यो मानिस किन यस्तो ठुलो सपना देख्छ ? किन सधैं सामूहिकताको कुरा गर्छ ? तर उसको लक्ष्य थियो,“सबैलाई अघि बढाउने, सबैलाई अवसर दिने, सबैलाई जोडेर एउटा ठुलो शक्ति बनाउने ।”

उसले देशलाई केन्द्रमा राखेर उद्योगको नेतृत्व गरेको छ, रोजगारी सिर्जना गरेको छ र नयाँ सम्भावनाहरूको द्वार खोलेको छ । उसको मतमा शक्ति भनेको कर्म हो । यदि कसैसँग ठुलो सम्पत्ति छ तर कर्म छैन, त्यो शक्ति होइन तर यदि कसैले कर्ममा अडान राख्छ, उनीसँग अदृश्य शक्ति हुन्छ ।

दोषी चस्माधारीहरूको लागि उद्यम भनेको स्वार्थ, शोषण र आडम्बर मात्र हो । उनीहरूको दृष्टि उसलाई गिद्धे शिकार जस्तो देख्छ । उनीहरू भन्छन्,“उद्यम भनेको स्वार्थ हो, शोषण हो, आडम्बर हो ।” यसले उद्यमीको मनमा मौलिक प्रश्नहरू उत्पन्न गर्छः
के उद्यमशीलता अपराध हो ?
के कर्मको बाटोमा हिँड्नु दोष हो?
के देशका लागि उद्योग खोल्नु, समाजका लागि रोजगार सिर्जना गर्नु
गुनासो हो?
के दोषी चस्मा लगाउनेहरूको दृष्टिमा सफल हुन चाहनु नै अपराध हो ?
इमानदारीः मूर्खता वा सम्पत्ति ?

उद्यमीको जीवनदर्शन सरल र स्पष्ट छ– इमानदारी नै सबैभन्दा ठुलो सम्पत्ति हो । जसरी अन्धकार र उज्यालो एकसाथ बस्न सक्दैनन्, त्यसरी नै उसको जीवनमा छल र इमानदारीसँगै बस्न सक्दैन । उसले कहिल्यै छलछाम गर्नेहरूसँग सामिप्यता राखेन । उसले खुला, स्पष्ट र इमानदार जीवन रोजेको छ ।

उसको विश्वास छ कि इमानदारी नै अकूत सम्पत्ति हो । उसले छलछाम, बेइमानी, धोका र दूरीलाई प्रकट शत्रु ठानेको छ । दोषी चस्माधारीहरूको लागि, सत्य बोल्ने मानिस तिखो हुन्छ र इमानदार मानिस मूर्ख हुन्छ । उनीहरू भन्छन्,“सत्य बोल्ने मानिस तिखो हुन्छ, इमानदार मानिस मूर्ख हुन्छ ।” यसले उद्यमीको मनमा गहिरा प्रश्नहरू उत्पन्न गर्छ :

के इमानदारी आजको युगको मूर्खता हो ?
के सत्य बोल्ने बानी समाजको लागि असहज घाव हो ?
के धोका स्वीकार्न नसक्नु अपरिपक्वता हो ?
आत्मस्वीकृति कमजोरी वा साहस ?

उद्यमी आफूलाई कुनै देवता होइन भन्ने जान्दछ । उससँग पनि कमजोरीहरू छन् । ऊ सिधा बोल्ने बानी भएको मानिस, धेरैपटक नराम्रो पनि लाग्छ । अरुले भनिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्छ । छिटो परिणाम चाहन्छ ।

धैर्य कहिलेकाहीँ हराउँछ र जब कुरा अनुकूल भएन भने रिस पनि उठ्छ । यी उसका त्रुटिहरू हुन् र उसले यसलाई आत्म–स्वीकृति स्वरूप स्वीकारेको छ ।

तर दोषी चस्माधारीहरू भन्छन,“कमजोरी स्वीकार्नु कमजोरी नै हो ।” उनीहरूको दृष्टिमा स्वीकारोक्ति भन्दा मुखौटा लगाएर बस्नु नै उनीहरूको नियम हो । यसले उद्यमीलाई निम्न प्रश्नहरूसँग जुझ्न बाध्य पार्छ :
सिधा प्रश्न–जवाफ गर्नेे बानी, के यो कठोरता हो ?
छिटो परिणाम खोज्ने अधीरता, के यो दोष हो ?

अपेक्षा—“अरुले मलाई बुझिदिए हुने थियो”—के यो असम्भव सपनाजस्तै हो ? के स्वीकारोक्ति भन्दा पनि मुखौटा लगाएर बस्नु नै उनीहरूको नियम हो ?

प्रतिकूलताः सङ्कल्प वा नियति ?

उद्यमीको उद्यमशीलताको यात्रा देशकै गौरव मानिन्छ तर जब कसैले उचाइ छुन थाल्छ, त्यसको विरुद्धमा पनि नजरहरू उठ्छन् । उसको अभियानप्रति पनि गिद्धे नजर लागेका छन् । कसैले उसको कर्मलाई प्रश्न गर्छ, कसैले उसको उद्देश्यलाई शङ्का गर्छ । तर उसलाई थाहा छ कि यी सब परीक्षाहरू मात्र हुन् । सत्य कर्ममा लाग्ने मानिसलाई यस्ता कुनैपनि आँधीबेहरीले रोक्न सक्दैनन् । उसले प्रतिकूलतालाई अनुकूलतामा बदल्न खोजेको छ । जीवनको प्रत्येक कोशिका त्यसैमा समर्पित गरेको छ । तर दोषी चस्माधारीहरूको प्रश्न फेरि उठ्छ :

के प्रतिकूलतालाई परिवर्तन गर्न खोज्नु व्यर्थ हो ?
के नियति स्वीकारेर बस्नु बुद्धिमत्ता हो ?
के परिणाम खोज्ने संकल्प नै मूर्खता हो ?

मौन समुदाय र दोषी चस्माको परिणाम

उद्यमीको जीवन यही प्रश्नमा आइपुग्छ- यदि उसले यी सबै नगरेको भए, सबैले उसलाई ‘राम्रो मान्छ’ भन्थे तर यदि ‘सबको राम्रो मान्छ’ बन्नका लागि उसले आफ्नो उद्यमशीलताको बाटो छोड्नुपर्छ भने, त्यो उसलाई स्वीकार छैन । ऊ सत्य–कर्मको बाटोमै हिँड्छ । त्रुटिसहित, आलोचनासहित, सङ्घर्षसहित । किनकि यही बाटो उसको आत्मा हो । यही बाटो उसको नियति हो र यही बाटो उसको देश र समाजप्रतिको प्रतिज्ञा हो ।

उसले जसका लागि काम गर्यो, उनीहरू मौन छन् । उसले जसलाई उठायो, उनीहरू मौन छन् तर दोषी चस्मा लगाउनेहरू सक्रिय छन् । उनको मौनता छैन-उनको आवाजमा मात्र दोष छ । यसले उसको मनमा अन्तिम प्रश्नहरू जन्माउँछः
के मौन समाजभन्दा ठूलो अभियोगकर्ता तिनै समाजसेवीहरू हुन् ?
के दोषी चस्मा नै मेरो जीवनको सबैभन्दा ठूलो अदालत हो ?

के उनीहरूको निर्णय नै नियति हो ?

यो कथा कुनै एक व्यक्तिको होइन, यो हरेक उद्यमी, समाजसेवी र कर्मयोगीको कथा हो । यो आत्म–प्रश्न होः के हामी परिवार र समाजका लागि खोटी हौँ वा केवल दोषी चस्मा लगाउनेहरूको लागि मात्र ? के हाम्रो उद्यमशीलता र कर्मलाई खोटी बनाउने समय आइसकेको छ वा ती दोषी चस्माहरूको दृष्टि नै दोषपूर्ण छ ?

यदि उनीहरूको दृष्टि नै हाम्रो खोट हो भने, अन्ततः हामी कसैको पनि होउँ न परिवारको, न समाजको, न तदेशको तर सत्य यही हो कि इमानदारीमै सम्पत्ति छ, सामूहिकतामै शक्ति छ, कर्ममै नियति छ र यो बाटो नै हाम्रो अन्तिम विजयको ग्यारेन्टी हो ।

हामीले दोषी चस्माहरूको दृष्टिलाई नै प्रश्न गर्नुपर्छ,आफ्नो कर्मलाई होइन । किनभने यो दोषी चस्माहरूको दृष्टि नै हो जसले समाजलाई अँध्यारोतिर लैजाँदैछ, उद्यमशीलतालाई हतोत्साहित गर्दैछ र मानवीय मूल्यहरूलाई क्षरण गर्दैछ । अन्ततः उद्यमीको संघर्ष नै उसको विजय हो ।

नवप्रवर्तन र एक अनियन्त्रित भविष्यको आह्वान

उद्यमशीलता भनेको सदैव एउटा प्रश्न हो- “के यसरी भएन ?” को । यो नयाँ विचार, नयाँ उपकरण र नयाँ प्रविधिको एक अन्तहीन अन्वेषण हो, जसको हृदयमा बस्छ गुणात्मक विकास ।

यो केवल सङ्ख्याको खेल होइन, यो मूल्यको सृष्टि हो-उत्पादनको गुणस्तर, सेवाको गहिराइ, र प्रक्रियाको दक्षतामा एक क्रान्ति । यही क्रान्ति नै एउटा राष्ट्रको अर्थतन्त्रलाई टिकाउ, प्रतिस्पर्धी र साँच्चै नवीन बनाउँछ तर यो बाटो सधैं विवादको छेउबाटै हिँड्छ ।

“कामको आवश्यकताले कानून बन्ने हो, कानूनको लागि काम गर्ने होइन” यो त्यही उद्यमीको घोषणा पत्र हो । यसको अर्थ स्पष्ट छ, कामको आवश्यकताले नै नयाँ नियम जन्माउनुपर्छ ।

जब ‘राइड सेयरिङ् उभिन्छ, ‘ई–कमर्स’ बिस्तार गर्छ वा ‘फिनटेक’ ले वित्तलाई अगुवाई गद्र्छ, तब पुराना कानुनहरू अर्थहीन हुन्छन् । उनीहरूले नयाँ वास्तविकतालाई समात्न सक्दैनन् ।

कानुनको लागि काम गर्नु भनेको नवप्रवर्तनलाई पुरानो पेटीमा बाँध्नु हो । यो भविष्यलाई विगतको गुलाम बनाउँछ । यसले सिर्जनशीलतालाई दमन गर्छ र राष्ट्रको प्रगतिलाई पछि तान्छ ।

यसको सट्टामा, हामीलाई यस्तो नीति चाहिन्छ जसले वास्तविकतालाई स्वीकार गर्छ-जसले उद्यमीहरूसँग कुरा गर्छ, उनीहरूको चुनौतीहरू बुझ्छ र एउटा यस्तो वातावरण रच्छ जसले सुरक्षा र प्रोत्साहनबिचको सन्तुलन कायम राख्छ । तर यहाँ नै दोषी चस्माको घातक प्रहार हुन्छ ।

नवप्रवर्तनलाई हेर्ने यो त्रुटिपूर्ण दृष्टिकोण हो । यसले नयाँलाई नै अपराधी ठहर्‍याउँछ । यसले समाधानलाई समस्याको रूपमा हेर्छ । यो चस्मा लगाउनेहरूले बुझ्दैनन् कि उनीहरूको आलोचनाले भविष्यलाई रोकिरहेको छ-उद्यमीको संघर्षलाई बढाइरहेको छ । उनीहरूको स्वर मात्रै सुनिन्छ,उद्यमीको मौन समुदायको आवाज भने डुब्सिएको हुन्छ ।

त्यसैले, उसको शन्देश हो की उद्यमिताको यात्रा भनेको नियमहरू पछ्याउने होइन तर नयाँ मार्गहरूको आविष्कार गर्ने हो । यो मान्नु पर्छ कि नवप्रवर्तन सधैं कानुनभन्दा अगाडि हुनेछ ।

कानुनको भूमिका त्यसपछि आउनु पर्छ-त्यसलाई मार्गदर्शन गर्न, सुरक्षित बनाउन, तर कहिल्यै पनि त्यसलाई बाधा पुर्‍याउनु हुँदैन । यो एउटा गतिशील र अनुकूलनशील शासनको आह्वान हो, जसले गुणात्मक विकासलाई निम्त्याउन उद्यमीहरूको पछि लाग्नुको सट्टा, उनीहरूसँगै हिँड्न सक्छ ।

किनकि अन्त्यमा, उद्यमीले जति सामना गरे पनि उसको लक्ष्य समाजको मौनतालाई आवाज दिनु हो-आफ्नो कर्मको सफलताले दोषी चस्माको शोशालाई निरुत्तर बनाउनु हो ।

स्थापित शक्ति र सामूहिक सपनाको संघर्ष

एउटा कडा सत्य होः स्थापित पुँजीपति बर्गले आफ्नो पैसाले होइन, बैंकको पैसाले-त्यो सामूहिक जमाजम्मतको पुँजीले-शासन गर्ने सोच राख्छ । उसको शक्तिको आधार भनेको पहुँच र प्रभाव हो; सिर्जनाशीलता र साहस होइन । उसले पुराना ढाँचा, पुराना नियम, र पुराना सहुूलियतलाई नै अझै बलियो बनाउन खोज्छ, किनभने यहीमा उसको सत्ता सुरक्षित छ ।

यसको विपरीत, उद्यमी भने आफ्नै सामूहिक पसिनाबाट कमाएको पैसा, आफ्नै जोखिममा ल्याएको पुँँजी र आफ्नै सपनाको बलमा अगाडि बढ्छ ।

उसले केवल व्यवसाय नै बनाउँदैन, उसले एउटा विचार बोक्छ-यो विश्वास कि पुँँजी केवल व्यक्तिगत सम्पत्ति होइन, बरु एउटा सामूहिक शक्ति हो । जब उसले आफ्नो पुँजीलाई सामूहिकतामा बदल्छ, जब लाभांश मात्र होइन रोजगारी र अवसर बाँड्छ, तब उसले एउटा न्यायिक समाजको आधारशीला राखिरहेको हुन्छ । यो समाज जहाँ सफलताको लाभ सबैले पाउँछन् र जोखिमको बोझ एक्लैले बोक्दैन ।

यही क्षणमा संभ्रान्तहरूको आँखाको तारो बनछ । किनभने उनीहरूले देख्छन् कि उनीहरूको एकाधिकार टुटिरहेको छ । उनीहरूको ‘बैंकको पैसा’ भन्ने हतियार निस्क्रिय हुँदैछ । उद्यमीले सिर्जना गरेको यो नयाँ मोडेलले गर्दा सामान्य मानिसको हातमा पनि शक्ति पुगिरहेको छ । यसले स्थापित शक्ति संरचनालाई चुनौती दिन्छ र उनीहरू आक्रामक हुन्छन् ।

फेरि पनि दोषी चश्माहरू

उनीहरूले उद्यमीलाई निशाना बनाउँछन् । उसको सामूहिकतालाई ‘जोखिमयुक्त’ भन्छन् । उसको नवप्रवर्तनलाई ‘अस्थिर’ भन्छन् । उसको न्यायिक समाजको सपनालाई ‘अव्यवहारिक कल्पना’ भनेर हेप्छन् ।

उनीहरूको दोषी चस्माको लेन्सले केवल डर देखाउँछ, सम्भावनादेखि आँखा चिम्लन्छ । उनीहरूको आलोचनाको स्वर उच्च हुन्छ किनभने उनीहरूको शक्ति घट्दैछ र उनीहरू जान्छन् कि यो उद्यमी केवल व्यवसायी होइन, एउटा सामाजिक परिवर्तनकर्ता पनि हो ।

उसले मात्रै लडिरहेको हुँदैन-उसले सबैका लागि एउटा द्वार खोलिरहेको हुन्छ । र यही सच्चाईले स्थापित शक्तिलाई सबैभन्दा डर लाग्छ ।

अन्तिम प्रश्नहरूको सागर

जीवनको उत्तरार्धमा जब उद्यमी फर्केर हेर्छ, उसलाई लाग्छ कि उसले जे ग¥यो, त्यो व्यक्तिगत धनका लागि होइन । त्यो सामूहिकताको शक्ति जगाउनका लागि थियो । त्यो देशलाई उज्यालो बनाउनका लागि थियो । उसको आवाज यही छ-“इमानदारीमै सम्पत्ति छ, सामूहिकतामै शक्ति छ, कर्ममै नियति छ ।” र यदि कसैले यो बाटोमा शङ्का गर्छ भने, त्यो उसको शत्रु होइन- उसलाई अझ सबल बनाउने परीक्षा हो ।

प्रश्न नै एउटा गहिरो दार्शनिक बाटो हो । प्रश्नहरू उठ्नु भनेको मानिसको चेतनाको स्वभाविक प्रक्रिया हो । यो कुनै बाहिरबाट आएर हामीलाई अचम्ममा पार्ने कुरा होइन, बरु हाम्रो भित्रबाट नै उब्लिएर आउने कुरा हो ।

मुख्यतः यी कारणहरूले प्रश्नहरू जन्माउँछन् । अनुभव र ज्ञानबीचको अन्तर जब हामीले देख्छौं, सुन्छौँ वा अनुभव गछौँ तर त्यसलाई बुझ्न सक्दैनौँ । हाम्रो ज्ञान र हाम्रो अनुभवबिच एउटा खालीपन देखिन्छ । त्यही खालीपन भर्न प्रश्नहरूको जन्म हुन्छ । उदाहरणः बिजुलीको चम्को देखेर मानिसले सोच्यो, “यो किन चम्क्यो?” यही प्रश्नले उत्तर खोज्यो र विज्ञानको विकास भयो ।

समस्यासामना गर्दा कुनै कठिनाई, रोकाइ, वा नयाँ चुनौतीले हामीलाई सोच्न बाध्य पार्छ । “यसलाई कसरी समाधान गर्ने ?” भन्ने प्रश्न आफैँ आउँछ । उदाहरणः “यातायात धेरै भीड छ, यसलाई कसरी कम गरौं ?” यसले नै साझा सवारी, मेट्रो रेल जस्ता नवीनताहरूको सुरुवात गर्‍यो जिज्ञासा र आश्चर्य मानिसको स्वभाव नै जिज्ञासु हुनु हो ।

हामी केवल भएको कुरा स्वीकार गर्न चाहँदैनौँ , यो किन र कसरी भयो भनेर जान्न चाहन्छौँ । यही आश्चर्यले प्रश्नहरू सिर्जना गर्छ । उदाहरणः बच्चाहरू सधैं सोध्छन्, “आकाश निलो किन हो?”,“पक्षीहरू उड्छन् किन ?”

पूर्वधारणा र वास्तविकताबीचको टकराव जब हाम्रो मनमा रहेको विश्वास र हाम्रो अगाडि प्रस्तुत वास्तविकताबिच ठुलो अन्तर हुन्छ । हाम्रो मस्तिष्कले यस अन्तरलाईसम्म मिलाउन खोज्छ र त्यसैले प्रश्नहरू उठ्छन् । उदाहरणः पुरानो मान्यता अनुसार सूर्य पृथ्वीको वरिपरि घुम्छ तर ग्यालिलियोको अवलोकनले यसलाई गलत साबित गर्‍यो । यही टकरावले नयाँ प्रश्नहरू खोल्यो ।

रचनात्मकताको आवश्यकता मानिस सिर्जनशील प्राणी हो । हामी केवल जे छ त्यसमै सन्तुष्ट हुन चाहँदैनौँ, नयाँ कुरा सिर्जना गर्न चाहन्छौँ । “म यो यसरी बनाउन सक्छु ?”, “यसलाई राम्रो कसरी बनाउने ?” जस्ता प्रश्नहरू रचनात्मकताको मूल आधार हुन् ।

प्रश्नहरू उठ्नु भनेको हाम्रो चेतनाको सक्रियताको सङ्केत हो । यो एउटा आन्तरिक प्रक्रिया हो जुन, अनुभव र ज्ञानबीचको अन्तरबाट, समस्याको सामनाबाट, जिज्ञासाको भावनाबाट, विश्वास र वास्तविकताबीचको टकरावबाट, र सृजना गर्ने इच्छाबाट उत्पन्न हुन्छ ।

त्यसैले, प्रश्नहरू कुनै कमी होइनन्, बरु समाधान र प्रगतिको पहिलो सीढी हुन् । जस्तो उद्यमीले सोध्यो, “के यसरी भएन?” यही प्रश्नले उसले संसारलाई परिवर्तन गर्छ ।

लेखक शर्मा युवा उद्यमी अभियानकर्मी हुन्