कामना सेवा बैंकले विराटनगरको मालपोत कार्यालय पुनःनिर्माण गर्ने


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ ।

जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय, मोरङको कार्यालय मर्मत सम्भार समेत गर्ने भएको हो । मालपोत कार्यालय विराटनगरका तर्फवाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फवाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुषालले पुनःनिर्माणको लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । हाल कार्यलय जलेर नष्ट भएको विवरण संकलनको कार्य भईरहेको र विवरण संकलन पश्चात पुनःनिर्माणको काम शुरु हुने बैंकले जनाएको छ ।

साथै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा, तत्काल आवश्यक कम्प्युटर बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरे । सो अवसरमा डिएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरे ।

बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण तथा मर्मत सम्भार गर्नको लागि सहकार्य गर्ने समेत जनाएको छ ।