समृद्ध नेपाल निर्माणमा सबैलाई एकजुट हुन गोल्यान ग्रुपको आह्वान


काठमाडाैँ । व्यापारिक घराना गोल्यान ग्रुपले विगतको बलिदानलाई सम्मान गर्दै भावी पुस्ताका लागि सुन्दर र समृद्ध नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गरेको छ। हालै सम्पन्न जेनजी संघर्षको सन्दर्भमा ग्रुपले संस्थागत क्षेत्रदेखि व्यवसायिक घराना र व्यक्तिसम्म सबैको सहकार्य अपरिहार्य भएको बताएको हो।

“अबको यात्रामा साहस, सहकार्य र अटल प्रतिबद्धताको आवश्यकता छ। सबल र समृद्ध राष्ट्र निर्माणका लागि हामी सँगसँगै छौं,”फेसबुक पेजमार्फत गोल्यान ग्रुपले भनेको छ ।

ग्रुपले संघर्षपछि नयाँ पुस्तामा आशा र उज्यालो भविष्यप्रति दृढ विश्वास जन्मिएको टिप्पणी गरेको छ। “यो एउटा नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान गर्छ, न्यायलाई समर्थन गर्छ र हामी सबैलाई प्रगति तथा समृद्धितर्फ डो¥याउँछ,”गोल्यान ग्रुपले भनेको छ ।

सोही अवसरमा गोल्यान ग्रुपले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्तिलाई ऐतिहासिक अध्यायको सुरुवात भएको भन्दै स्वागत गरेको छ। “हाम्रो राष्ट्रको भविष्य अब विगतमा सीमित छैन भन्ने गहन घोषणा पनि हो,” ग्रुपले भनेको छ।