काठमाडौँ । भ्रष्टाचारविरुद्धको ‘जेनजी आन्दोलन’ का क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्मानमा आज (असोज १ गते) देशभर सार्वजनिक बिदा दिइएको छ । सरकारले आजलाई राष्ट्रिय शोकको दिनका रूपमा मनाउने निर्णय गरेको हो ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा कम्तीमा ७२ जनाले ज्यान गुमाएका थिए । उनीहरूको सम्झनामा भदौ ३० गते बसेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले राष्ट्रिय शोक घोषणा गर्दै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
शहीदहरूको मंगलबार शवयात्रा निकालेर पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिएको थियो । केही शहीदहरूको शव भने उनीहरूकै जिल्लामा लगेर अन्त्येष्टि गरिएको छ ।
सरकारले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । देशभर विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्