एन आई सी एशिया बैंकमा सङ्कट गहिरिदै,कार्यकाल पुरा नहुँदै बाहिरिए सिइओ न्यौपाने


काठमाडौँ । विहीबार एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन न्यौपानेले राजीनामा दिए । उनको राजीनामा सञ्चालक समितिको बैठकले विहीबार नै स्वीकृत गरिदियाे ।

एन आई सी एशिया बैंकका सिइओले राजीनामा दिने भनेर बाहिर हल्ला चल्ने गरेको थियो तर विहीबार विहान पारिवारिक समस्या देखाउँदै उनले समयाअवधि बाँकी छदै राजीनामा दिए भने तत्कालै उनको राजीनमा स्वीकृत पनि भयो ।

एन आई सी एशिया बैंकमा न्यौपानेको दोस्रो कार्यकाल हो भने उनको बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा एक वर्ष बाँकी नै थियो ।

पछिल्लो समय एन आइ सी एशियामा संकट चुलिँदै गएको थियो भने बैंकको सुशासन पनि कमजोर थियो । बैंकले राष्ट्र बैंकको निर्देशन पनि अटेर गर्ने गरेको थियो ।

राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको, ऋणीबाट बढी ब्याज असुल गर्ने, पुँजीकोष, संस्थागत सुशासन कायम नगरेको, राष्ट्र बैंकलाई गलत रिर्पोटिङ् गर्ने गरेकोभन्दै राष्ट्र बैंकले कारबाही पनि गरेको छ ।

राष्ट्र बैंकका उच्च कर्मचारीका अनुसार एन आई सी एशिया बैंकका एक कर्मचारी राष्ट्र बैंकको नियमित कर्मचारी जसरी राष्ट्र बैंकमै बस्ने गरेका थिए ।

बैंकका निक्षेपकर्ता र ऋणीहरूको उजुरी आउने भएकोले त्यस उजुरी दर्ता गर्न नलगाउने उद्देश्यले एक कर्मचारी राष्ट्र बैंकतिरै घुमिरहेका हुन्थे । उनलाई राष्ट्र बैंकले लामो प्रयास पछि बाहिर निकालेको ती कर्मचारी बताउँछन् ।

साना ऋण सुरक्षित हुने भएकोले साना कर्जा प्रवाह गर्दै आएको एन आई सी एशिया बैंक पछिल्लो समय संकटमा पर्दैै गएको थियो ।

ठुला ऋणीलाई जोखिम देखेको एन आई सी एशिया बैंकले साना ऋणमात्र प्रवाह गर्ने र ऋणीले ऋण तिर्न नसके धितो लिलाम गरेर आफुले लिई हाल्ने रणनीतिमा चलेको बैंकले पछिल्लो निक्षेपकर्ता र ऋणीहरूलाई गर्ने व्यवहारका कारण बैंकले विश्वास गुमाउँदै गएको थियो ।

नेपाल राष्ट्र बैंकले साना ऋणी लक्षित सुविधाहरू दिँदै आएको थियो । साना कर्जा प्रवाह गरेर सुरक्षित रहेको एन आई सी एशिया बैंक राष्ट्र बैंकले सुविधा दिँदा पनि सुधार देखिएन ।

राष्ट्र बैंकले साना ऋणी लक्षित सुविधा दिएपनि त्यसबाट बैंकको केही सुधार देखिएको थिएन । बैंकको व्यवहारका कारण ऋणीले कर्जा अर्को बैंकमा सार्ने भनेपछि कालोसूचीमा राख्ने, धितो लिलामी गर्ने धम्की दिने गरेको एक ऋणीले टक्सारसँग बताएका थिए ।

बैंकको सुशासन कायम नगरेको, राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बैंक संकटका बिच बैंकबाट बाहिरिएका छन् ।

राष्ट्र बैंकका अनुसार बैंकको निक्षेपसँगै कर्जा पनि घटेको छ । बैंकको निक्षेप पनि घटेको छ अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ६० अर्ब ५३ करोड ७५ लाख रूपैयाँ बैंकको निक्षेप थियो भने गत आर्थिक वर्षमा ३ खर्ब २३ अर्ब ५५ करोड ९७ लाख रूपैयाँ निक्षेप छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८५ अर्ब ३३ करोड २९ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो भने गत आर्थिक वर्षमा २ खर्ब ३९ अर्ब ३२ करोड ८१ लाख रूपैैयाँ कर्जा प्रवाह गरेको छ ।

राष्ट्र बैंकका अनुसार एन आई सी एशिया बैंकले आर्थिक वर्ष २०८०/८१ मा १६ करोड १५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ सुधार गर्दै एक अर्ब ३८ करोड १० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको लोन लस प्रोभिजन अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ११ करोड ६१ लाख रूपैयाँ रहेको थियो भने गत आर्थिक वर्षमा ६ अर्ब ९२ करोड ५ लाख रूपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३८ अर्ब ६ करोड ५७ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा २८ अर्ब ६७ करोड ४९ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकले आघिल्लो आर्थिक वर्षमा २ अर्ब ३१ करोड ७५ लाख रूपैयाँ कमिसन आम्दानी गरेको थियो भने गत आर्थिक वर्षमा एक अर्ब ५४ करोड ७१ लाख रूपैयाँ कमिसन आम्दानी गरेको छ ।

एक वर्षको अवधिमा बैंकको गैर बैंकिङ् सम्पत्ति पनि बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३६ करोड १६ लाख रूपैयाँ रहेको थियो । गत आर्थिक आर्थिक वर्षमा गैर बैंकिङ् सम्पति ४ अर्ब ६३ करोड ९८ लाख रूपैयाँ रहेको छ ।