नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, हजारौं यात्रु अलपत्र


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिक गएको शुक्रबार साँझ ठूलो पहिरो खस्दा सडक अझै अवरुद्ध बनेको छ । शुक्रबार साँझ ७ः१५ बजे खसेको पहिरोपछि दुईतर्फी सवारी आवागमन ठप्प भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान ६ बजेसम्म पनि ढुङ्गा र माटो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने काम सुरु गर्न सकिएको छैन ।

सडक डिभिजन कार्यालय भरतपुरले ढुङ्गा झर्ने क्रम रोकिएपछि मात्र तीन वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको जनाएको छ ।

सडक बन्द हुँदा काठमाडौँ–पोखरा र अन्य गन्तव्यतर्फ गएका सयौं सवारीसाधन बाटोमै रोकिएका छन् । हजारौं यात्रु लामो समयदेखि सडकमै अलपत्र परेका छन् ।

यातायात जामलाई व्यवस्थित बनाउन प्रहरीले सवारी साधनलाई आफ्नो लेनमै बस्न आग्रह गरेको छ । यस्तै, अझै पनि पहिरो खस्ने जोखिम उच्च रहेकाले आजको लागि यो सडक खण्डमार्फत यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।