जेनजी विद्रोहः सम्पत्ति बिमामा सर्वाधिक दाबी, बागमती प्रदेशमा सबैभन्दा बढी क्षति


काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका कारण हालसम्म सबैभन्दा धेरै बिमा दाबी सम्पत्ति बिमामा परेको देखिएको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असोज ५ गतेसम्म जम्मा २ हजार ४७८ ओटा दाबी दर्ता भएका छन् जसको प्रारम्भिक मूल्य करिब २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

यीमध्ये सम्पत्ति बिमामा मात्र ५३८ वटा दाबीबाट करिब १८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

यस्तै मोटर बिमामा १ हजार ७७८ ओटा दाबीमार्फत २ अर्ब ९५ करोड २६ लाख रुपैयाँ पुगेको छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १३२ ओटा दाबीमार्फत ३३ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी भएको छ ।

परिवहन बिमामा ११ ओटा दाबीबाट १ करोड ५५ लाख रुपैयाँ र अन्य शीर्षकमा ३४ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशगत विवरण हेर्दा बागमती प्रदेशमा सबैभन्दा ठूलो क्षति भएको छ । बागमतीमा मात्रै १ हजार ३४३ ओटा दाबीमार्फत करिब १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको दाबी भएको छ ।

त्यस्तै, कोशी प्रदेशमा ३२२ ओटा दाबीबाट १ अर्ब ६५ करोड ३ लाख रुपैयाँ, गण्डकी प्रदेशमा २४६ ओटा दाबीबाट १ अर्ब २९ करोड १ लाख रुपैयाँ, मधेश प्रदेशमा २४६ ओटा दाबीबाट ५५ करोड २८ लाख रुपैयाँ, लुम्बिनी प्रदेशमा २०२ ओटा दाबीबाट ४५ करोड ६९ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशमा १५९ ओटा दाबीबाट २३ करोड ९६ लाख रुपैयाँ र कर्णाली प्रदेशमा २२ ओटा दाबीबाट ८ करोड ९३ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ ।