काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
सोमवार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।
जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरुको परिवारलाई रोजगार दिनसके उनीहरूलाई केही सहज हुने उनले बताए । यसका लागि उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने उनको भनाइ छ ।
उनले युवाहरूको सिप विकासमा सबैभन्दा बढी आफ्नो ध्यान रहने पनि बताए । वैदेशिक रोजगारीमा गएका युवाहरुलाई देश फर्केर देशभित्रै रोजगारि दिने वातावरण निर्माण गर्नुमा आफ्नो जोड हुने उनको भनाइ छ ।
उनले आफू कानून क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको बताए ।
“जो अहिले साहदत प्राप्त गर्नुभएको छ, घाईतेहरू हुनुहुन्छ, उहाँहरूलाई देशमा भएका उद्योग, उद्यमीहरु जति हाल चलिरहेको छ या चलाइरहेको छ । उहाँहरूलाई म अह्वान गर्न चाहन्छु, उहाँहरूको परिवार कसैलाई रोजगारी दिने । त्यो भएपछि केही हदसम्म पनि उहाँहरुलाई सान्तत्वना हुन्छ की भन्नेजस्तो लागेको छ । त्यतातिर म एकचोटी छलफल गर्छु,” उनले भने ।
उनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्