दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्छुः मन्त्री परियार


काठमाडाै । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् ।

शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताए । किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ । 

उनले भने,”सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ । त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ । अर्को कुरा शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने हाम्रो कार्यभार हो । मैले कृषि मन्त्रालयका सचिवज्युहरूसँग पनि सल्लाह गरेर मन्त्रालयको कार्यभार कसरी पूरा गर्ने भन्नेकुरामा धयान जान्छ,” ।

मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उनको भनाइ छ ।