काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले जेनजी आन्दोलनपछि पनि देशका प्रणालीगत समस्या र झन्झटिला प्रक्रियामा सुधार नआए युवामा थप निराशा बढ्ने चेतावनी दिएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले सुधार नभए देशबाट युवा पलायन दर अझै तीव्र हुने बताए ।
उनका अनुसार जेनजी आन्दोलन ठूला राजनीतिक मुद्दाभन्दा बढी दैनिक जीवनमा भोग्नुपरेका प्रक्रियागत अवरोध र सानोतिनो भ्रष्टाचारविरुद्धको आक्रोश थियो । “आज कक्षाकोठामा सर्वे गर्दा करिब ९०–९५ प्रतिशत विद्यार्थी बाहिर जान चाहन्छन्,” उनले भने, “देशप्रतिको माया भन्दा पनि पारिवारिक वा अन्य बाध्यताले मात्रै केही युवा बसेका छन् ।”
श्रेष्ठले युवामा वितृष्णाको मुख्य कारण ठूला नीतिगत भ्रष्टाचार भन्दा पनि सरकारी कार्यालयमा सानो काम गर्न जाँदा भोग्नुपर्ने दुःख भएको स्पष्ट पारे । उनले उदाहरण दिँदै भने, “एउटा युवाले व्यवसाय दर्ता गर्न खोज्दा नै हजारौं बाधा आउँछ । काम गर्न भन्दा रोक्नका लागि थुप्रै बाटा छन् ।”
उनले हालै ‘सार्क ट्यांक’ बाट लगानी प्राप्त गरे पनि कम्पनी रजिष्ट्रार कार्यालयमा सामान्य कामका लागि दुई महिनासम्म अल्झिनु परेको अनुभव सुनाउँदै यसले प्रणालीगत समस्या कति गहिरो छ भन्ने देखाएको बताए । “जेनजी आन्दोलनपछि पनि फेरि उस्तै कार्यालयमा गएर उस्तै ठोक्कर खानुपर्यो भने युवाको मनोबल झनै खस्किन्छ,” उनले टिप्पणी गरे ।
‘श्रेष्ठले युवालाई देशमै टिकाइराख्न तत्काल प्रणालीगत सुधारमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । उनले उद्यमशीलतालाई प्रवर्द्धन गर्न ‘वान–स्टेप सोलुसन’ सहितको पूर्ण डिजिटल सेवा, सरकारी लगानीमा ‘इन्क्युबेसन सेन्टर’ को स्थापना, स्टार्टअपहरूलाई निःशुल्क कानुनी तथा लेखा परामर्श, र साना व्यवसायका लागि विनाधितो ऋणको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
उनले थपे, “युवालाई रोजगारी दिने र उद्यमशील बनाउन ठोस योजना र सहज वातावरण नभएसम्म अर्थतन्त्र पुनरोत्थान सम्भव छैन । सरकारी निकायहरूले समेत नेपाली सफ्टवेयर र उत्पादनलाई प्राथमिकता दिए मात्रै युवामा देशप्रतिको भरोसा पुनः जाग्छ ।”
प्रतिक्रिया दिनुहोस्