व्यवसायीको मनोबल उठाउन कर्जा पुनर्संरचनादेखि सहुलियतपूर्ण ऋण सुविधा : कार्यकारी निर्देशक खरेल


काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट प्रभावित व्यवसायीको मनोबल उकास्न कर्जा पुनर्संरचना, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह र कम ब्याजदरमा ऋण उपलब्ध गराउने जस्ता कदम चालिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै खरेलले निजी क्षेत्रको मनोबल गिरावटलाई पुनः उकास्नु अबको मुख्य चुनौती भएको बताए ।

उनले भने, “जेनजी प्रदर्शनपछि अब अर्थतन्त्र मन्दीमा जाने हो कि, मूल्यवृद्धि बढ्ने हो कि भन्ने आशंका छन् । तर समग्र अवस्था हेर्दा मूल्यवृद्धि लक्षित सीमाभन्दा माथि जाने देखिँदैन । विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, रेमिट्यान्समा तत्काल प्रभाव पर्ने देखिँदैन । यसले मुद्रा सञ्चिति सहज अवस्थामा रहनेछ ।”

खरेलका अनुसार अहिले देशमा करिब ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम उपलब्ध छ र ब्याजदर पनि सहज अवस्थामा रहेको छ । यसले भौतिक संरचनाको पुनर्निर्माण र लगानी वातावरण सहज हुने उनको दाबी छ ।

“तरलता पर्याप्त भएको र ब्याजदर न्यून छ भने लगानी गर्दा प्रतिफल पाउन सकिन्छ,” उनले भने, “अब कुन क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने स्पष्ट रणनीति बनाउन जरुरी छ ।”

उनले वित्तीय स्थिति सहज भएकाले यसै आर्थिक वर्षमा ५।५ देखि ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न गाह्रो नहुने दाबी गरे । “सरकारी क्षेत्रबाट पुनर्निर्माणमा योगदान हुने देखिन्छ, निजी क्षेत्रलाई पनि सोही किसिमको अवस्था सिर्जना गर्नुपर्छ,” उनले थपे ।

खरेलले विगतका चुनौतीले नयाँ अवसर पनि ल्याएको स्मरण गरे । कोरोना महामारीपछि डिजिटलाइजेसन र आईटी क्षेत्रमा सुधार भएको उदाहरण दिँदै उनले अहिले पर्यटन क्षेत्र पनि सुधारको बाटोमा रहेको बताए ।

उनका अनुसार पछिल्ला दशकमा नेपालमा निरन्तर परिवर्तन भइरहेका छन् । यस प्रक्रियाले नागरिकमा पारदर्शी र जवाफदेही सार्वजनिक संस्थाको आवश्यकता, समस्या समाधानमा सरकारको सक्रियता, र नयाँ सोचसहित काम गर्ने संस्कृतिलाई बलियो बनाएको उल्लेख गरे ।