काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ग्रामीण स्वास्थ्य सेवा सुदृढ पार्न देशभरका ३५ वटा गाउँपालिकामा एम्बुलेन्स वितरण सुरू गरेको छ।
आज राष्ट्रिय सभा गृहमा वितरण कार्यक्रममा सहभागी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले महानगरको पहलको स्वागत गर्दै सकारात्मक धारणा व्यक्त गरेका हुन्।
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँले भने “हाम्रा लागि यो ठुलो सहयोग हो। यसले स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउनेछ।”
सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले भने, “यो जनता र सरकार बीचको मधुर सम्बन्ध विकासको नमूना हो।” वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले थपे, “एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउनेछौं। यसले सबैका लागि समान पहुँच सुनिश्चित गर्नेछ।”
महानगरपालिकाले चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा ३५ वटा गाउँपालिकामा ‘बी(क्लास’ एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको हो। यसअघि आ.व. २०८०/८१ र २०८१/८२ मा पनि यस कार्यक्रमलाई निरन्तरता दिइएको थियो। चालु वर्षका लागि बजेट शीर्षक नं. २५३१२ अन्तर्गत रु. ८ करोड १० लाख छुट्याइएको छ।
एम्बुलेन्स वितरण नगरपालिकाको माग र मापदण्डअनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पतालमा गरिनेछ। महानगरले प्राविधिक निरीक्षण टोलीको परीक्षण र प्रतिवेदन प्राप्त भएपछि आपूर्ति प्रक्रिया सम्पन्न गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्