नेपाल पुनर्बिमा कम्पनीमा कर्मचारी युनियनको लेटरप्याड ‘दुरुपयोग’,पुनर्बिमा भुक्तानी गर्नेबेला किचलाे


काठमाडौँ । नेपाल पुर्नबिमा कम्पनीमा केही कर्मचारीले कर्मचारी युनियनको लेटरप्याड दुरुपयोग गरेको आङ्का गरिएको छ ।

मुलुकले शोक विदा मनाइरहेका बेला असोज १ गते सञ्चालक समितिका अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर केही कर्मचारीले राजीनामा दिन दबाब दिएका थिए ।

उनीहरूले राजीनामा नदिए बाहिर निस्कन नदिने भनेपछि दुइ सञ्चालकले राजीनामा अध्यक्षलाई बुझाएका थिए ।

सिइओले भने अनावश्यक दबाबमा राजीनामा नदिने भन्दै बाहिरिएका थिए । कर्मचारीले उच्च व्यवस्थापन तह र सिइओलाई बोलाएर राजीनामा मागेको दिन जेनजी विद्रोहमा भएको मानवीय तथा भैतिक क्षतिमा पुगेको भन्दै मुलुकमा शोक विदा थियो ।

शोक विवादको दिन समेत केही कर्मचारीले कार्यालयमा बोलाएर राजीनामा माग्दै अनावश्यक दबाब दिएको र कार्यालयमै बन्धक बनाउने प्रयास गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडाैँमा सिइओ सुरेन्द्र थापाले प्रहरीसँग सुरक्षा माग गरेका थिए ।

प्रहरीले बोलाएर मिलापत्र गराएर पठाएको थियो । सिइओले फेरी कार्यालयमा गएर विहीबारदेखि काम सुरु गरेलगत्तै ‘नेपाल रि स्वतन्त्र कर्मचारी युनियन’को लेटरप्याडमा विज्ञप्ति जारी भएको छ ।

विज्ञप्तिमा अध्यक्ष महासचिव वा अन्य कुनै कर्मचारीको नाम छैन र हस्ताक्षर मात्रै छ । कम्पनीका सिइओ थापाले केही विषयमा कर्मचारीको माग भए पनि लगाइएको आरोप गलत भएको बताए ।

उनले भने,“विज्ञप्ति आएको भन्ने मैले पनि थाहा पाए तर यसको आधिकारिकताबारे प्रश्न छ । केही छलफल त भइहाल्छ त्यस्तो अन्यथा केही होइन ।”

सिइओ थापाले आफूले कुनै कर्मचारीलाई केही नभनेको बरु आफूले असुरक्षित महसुस गरेर प्रहरीलाई जानकारी गराएकाे भने स्वीकार गरे ।

युनियनका महासचिव रुद्र मिश्रले समेत विज्ञप्तिबारे अनविज्ञता प्रकट गरे । उनले भने,“के भएको रहेछ म बुझेर खबर गर्छु ।”

जेनजी विद्रोहपछि झण्डै २३ अर्ब रुपैयाँको बिमा दाबी परेको छ र यसको ६५ प्रतिशत भार नेपाल रिमा छ ।

मुलुक सङ्कटमा भएका बेला पुनर्बिमा दाबीलाई छिटो अगाडि बढाउनुपर्ने बेला नेपाल पुर्नबिमा कम्पनीमा भने केही कर्मचारी विरोधमा छन् ।

व्यवसाय बाँडेको आरोप लगाएर सञ्चालक समिति र सिइओको राजीनामा मागेका छन् । कर्मचारी नियुनिको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।

पुनर्बिमा कम्पनीको उच्च व्यवस्थापनले भने अहिलेको अवस्थामा कम्पनीलाई बदनाम गर्न केही समूह लागेको र जेनजी विद्रोहपछिको पुनर्बिमा भुक्तानीलाई अवरुद्ध गरेर कम्पनीलाई असफल बनाउने प्रयासमा लागेको आशङ्का गरेको छ ।