काठमाडौँमा निरन्तर वर्षा, जोखिमयुक्त क्षेत्रमा महानगरको सक्रियता


काठमाडौं । गए रातिदेखि निरन्तर वर्षा भइरहेको काठमाडौं उपत्यकामा महानगरपालिकाले सम्भावित जोखिमयुक्त क्षेत्रहरूको निरन्तर अनुगमन गर्दै आएको छ।

अवलोकनका क्रममा विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ रहेको स्युचाटार खोलाले बाटो भासाएको र खोलाले नजिकैको बस्तीसम्म करिब पाँच फिट मात्र दूरी छाडेको पाइएको छ।

खोलाबाट थप कटान नहोस् भन्ने उद्देश्यले काठमाडौं महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा तत्काल बोरा र ग्राभेल प्रयोग गरेर रोकथामको प्रयास भइरहेको छ।

यससँगै डुबानको सम्भावना भएको बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यदी डुबानका कारण समस्या देखिएमा नजिकैको सुरक्षित विद्यालयमा प्रभावितलाई स्थानान्तरण गर्ने तयारी महानगरले गरेको छ।

आपत् स्थिति उत्पन्न भएमा तत्काल सम्पर्क गर्न १६६००१०५५११, ०१५९०१७६४ र ०१५९०१७६३ (केएमसी प्रहरी) नम्बर उपलब्ध गराइएको छ।

महानगरले ‘सुरक्षित रहौं, सतर्क रहौं’ भन्ने सन्देशसहित नागरिकलाई सहकार्य र सावधानी अपनाउन आह्वान गरेको छ।